कांग्रेस बाँकेको सभापतिमा गौडेल र कुर्मीबीच फेरि मतदान हुने, जितमा हमाल समूहको मत निर्णायक

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापति पदका लागि शुक्रबार फेरि मतदान हुने भएको छ ।
कांग्रेसको १४औं अधिवेशन अन्तरगत बिहीबार भएको निर्वाचनमा नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमाल ३ जना प्रतिष्पर्धीबीच भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणमा मतदान हुन लागेको जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । सभापति पदका उम्मेदवारहरु गौडेलले ५६९, कुर्मीले ५३८ र हमालले ३१४ मत प्राप्त गरेका थिए । गौडेल र कुर्मीबीच ३१ मतको अन्तर छ । संस्थापन पक्षका हमालले ३१४ मत ल्याएका छन् । संस्थापन पक्षको मत सबै एकैठाउमा पर्ने हो भने कुर्मीको विजय सुनिश्चित छ तर हमाल समूहको मतलाई निर्णायक मानिएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कूल १ हजार ४९३ मतदाता छन् ।