रुख चिन्हमा मतदान गर्दा हामी तलमाथि गर्दैनौं भन्ने प्रतिबद्धता चाहिन्छ : महामन्त्री थापा

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्तरिक निर्वाचनमा पार्टीमा बनेको प्यानलको जित हारको प्रतिशोध स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नै पार्टीका नेतामाथि घात गर्न नहुने बताएका छन् ।
कांग्रेस क्षेत्र नं. १ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन बिना निर्वाचनमा जान नहुने कार्यकर्ताको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,
मलाई दल मन पर्यो । उम्मेदवार मन परेन । उम्मेदवार मन पर्यो, दल मन परेन मतदाताले भन्न पाउँछन् तर कांग्रेसका मतदातालाई निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आमकार्यकर्ताको भावना छ । रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथि गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिन्छ ।
एमसिसी नेपालमा आएको एउटा सामान्य परियोजना मात्रै भएको बताउँदै उनले एमसिसीले विद्युतमा लगानी गरेर नेपाललाई आर्थिक रुपले समृद्ध बनाउने मात्रै उद्देश्य रहेको बताए । कांग्रेस केन्द्रीय सदस्यत्रय दीपक गिरी, सञ्जय गौतम र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सभामा सम्बोधन गरेका थिए ।