जित–जितको अवस्थामा मात्र स्थानीय तहमा गठबन्धन हुन्छ : कांग्रेस प्रवक्ता महत

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत

नेपालगन्ज : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जित–जितको अवस्थामा मात्र स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले सत्ता गठबन्धनका दल सबैलाई जित–जित लागेको अवस्थामा मात्र उम्मेदवारीमा गठबन्धन हुने प्रष्ट पारे ।

‘बढी सिट जित्ने हो । के गर्दा बढी सिट जितिन्छ ? एक्लै सबै जितिन्छ भने कसले किन गठबन्धन गर्छ ? सबैलाई वीन वीन लाग्यो भने गठबन्धन हुन्छ’, उनले गठबन्धन हुने आधारबारे प्रष्ट पारे, ‘गठबन्धनमा इच्छुक दलको कस्तो प्रस्ताव आउँछ ? त्यसमा निर्भर गर्छ । यर्थाथपरक छ कि छैन । सबै मूल्याङ्कन हुन्छ । ठूलो प्रस्ताव आयो भने गठबन्धन हुँदैन । गठबन्धन गर्ने नगर्नेबारे कांग्रेस केन्द्रीय समिति बैठकले एकिन सिद्धान्तको आधारमा निर्णय गर्छ । कुनै पनि सम्भावनालाई नकार्न सकिँदैन ।’
कांग्रेसले बढी सिट जित्नका लागि मात्र अरु दलसँग गठबन्धन गर्ने उनको भनाइ थियो, ‘बढी सिट जित्ने हो ? के गर्दा बढी सिट जितिन्छ । एक्लै सबै जितिन्छ भने कसले किन गठबन्धन गर्छ ?’ स्थानीय तहका लागि आगामी चैत्र महिनाभित्रै कांग्रेसले उम्मेदवारको टुंगो लगाउने तयारी छ ।