क्यान्सरबाट अस्ताए उद्योगी व्यवसायीका नेता आचार्य

नेपालगन्ज : पेटको क्यान्सरबाट थलिएका उद्योगी व्यवसायीका नेता दामोदर आचार्यको ५९ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्वसदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आचार्यको शनिबार बिहान नेपालगन्जको भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लगातार पखाला लागेपछि उनी शुक्रबार मात्र भेरीमा भर्ना भएका थिए । आचार्यको घरमै उपचार गर्न गएका फिजिसियन डा.सुवास जिसीका अनुसार भारतमा किमो दिएर फर्के लगत्तै अस्वस्थ भएका थिए । भेरीमा भर्ना भए लगत्तै आइसीयुमा राखेर उपचार गरिएको थियो । फिजिसियन डा.राजन पाण्डे र कार्डियोलोजिष्ट डा.विकास नेपालले आचार्यको भेरीमा उपचार गरेका थिए । उपचारकै क्रममा बिहान ९ बजेतिर निधन भएको थियो । लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्केका थिए । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेको आचार्यलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, खेलकुद मन्त्री महेश्वर गहतराज अथक लगायत सांसद र माओवादी नेता नेपालगन्ज पुगेका थिए । स्वर्गीय आचार्यको पार्थिव शरीर मध्यान्न १२ बजे न्युरोडीस्थत आफ्नै घरमा र दिउँसो १ बजे त्रिभुवन चोकस्थित नेपालगन्ज उद्योग बाणिज्य संघमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरी राप्ती नदीको सिधनिया घाटमा लगेर अन्तिम संस्कार गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । आचार्यको शोकमा शनिबार नेपालगन्जमा दिउँसोदेखि बजार बन्द पनि गरिएको थियो ।