टीकापुरका विपन्न दलित पक्की घर पाएर खुसी

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिका-८ का मनमाने भुल अहिले निकै खुसी छन्। सुदूरपश्चिम प्रदेश सरकारको विशेष अनुदान र टीकापुर नगरपालिकाको समन्वयमा नयाँ पक्की घर पाएपछि मनमाने निकै खुसीको सीमा छैन ।
नगरपालिका-८ को जग्गा अतिक्रमण गरी बस्दै आएका उनीलगायत १५ घरधुरीलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको छ। “कयौं वर्ष हामीले घाम पनि नभनी कष्टकर जीवनयापन गरेका थियौँ”, उनले भने, “स्थानीय सरकार हाम्रो लागि भगवान भएर आयो। त्रिपालको हाम्रो बास आज पक्की घरमा हुन थालेको छ।” वडा नं ८ कै चन्द्रमाने दमाइँ पनि पक्की घर पाएपछि निकै खुसी छन्। सरकारले आफूहरुको कुनै लगानी नहुँदा पनि पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि आफुहरुलाई बस्नको लागि निकै सहज भएको उनी बताउँछन्। “सरकारले घर बनाएर दिन्छ भन्ने कुरा हामीले सोचेका पनि थिएनौं,” उनले भने, “अहिले ऐलानी जग्गामा भए पनि घर निर्माण गरिदिएको छ। परिवार सुरक्षित बस्न पाएका छौं। आफू कामको लागि घर बाहिर हुँदा पनि घरको चिन्ता कम हुने भएको छ।”
उनले घर बाहिर गएर कमाइ नगरे साँझ बिहानको चुलो बाल्न निकै कठिन हुने गरेको बताउँदै सडक किनारको बास र बाहिरको कमाइले आफू सधैँ असुरक्षित महसुस गर्दै आएको स्मरण समेत गरे। घुमन्तेको जस्तो आफूहरुको जीवन एकाएक स्थानीय सरकारको सहयोगमा परिवर्तन भएको सोही ठाउँका दीपक वादी बताउछन्। उनले सडकको किनारमा परिवारसहित बस्दा आफूहरुले पाएको दुःख सम्झदा निकै पीडा हुने गरेको बताए। “हिउँदमा चिसोको पीडा, गर्मीमा हावाहुरी र लामखुट्टेको पिडा त वर्षातमा बाढी र डुवानको जोखिमले निकै सताउने गरेको थियो”, दीपकले भने, “अब यो वर्षबाट त्यो समस्या आउने छैन।
खान र लगाउनको समस्या होला तर बस्नको समस्या सरकारले समाधान गरिदिएको छ।” उनले आफू बसेको ऐलानी जग्गाको लालपूर्जासमेत पाएको भए अझै खुसी हुने बताए । विपन्न दलित परिवारका लागि नगरपालिकाको समन्वयमा आर्थिक वर्ष ०७६/७७ मा ७ वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष ०७७/७८ मा ८ घर निर्माण भएका थिए। प्रदेश सरकारको विषेश अनुदानमा निर्माण भएका घर निर्माणको लागि प्रति घर करिब ९ लाख खर्च भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। “वडाका ती विपन्न दलित परिवारको अवस्था निकै कष्टकर थियो। वडाको जग्गामा उहाँहरु बस्दै आउनुभएको थियो”, वडा अध्यक्ष ठकुल्लाले भने, “यसलाई हामीले निरन्तरता दिने तयारी गरेका छौ ।
नगरपालिकामा भएका अति विपन्न परिवारको व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध छ।” नगरप्रमुख तपेन्द्रबहादुर रावलले आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई राहत हुने गरी जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताए। “आर्थिक रुपमा विपन्न नागरिकलाई यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गर्दै जाने छौँं। त्यसका लागि नगरपालिकाले गर्नुपर्ने कामका लागि सधैँ अग्रसर रहने छ”, नगरप्रमुख रावलले भने, “एकैपटक सबैको आवश्यकता पूरा गर्न नसकिने बताउदै चालु आर्थिक वर्षमा नगरपालिका–६ को पर्सेनीमा जनता आवास कार्यक्रम अन्तर्गत १८ घरको शिलान्यास भएर काम अगाडि बढाइएको बताए ।