गर्भपतन सेवा : जटिल स्वास्थ्य समस्याका महिलालाई राहत
पूजाकुमारी वैश्य । नेपालगन्ज
रूकुम पश्चिमकी ३५ वर्षिया सीता थापा दुई छोरा र दुई छोरीकी आमा हुन् । फेरि उनी गर्भवती भइन् । ३ महिनाकी गर्भवति उनी गोठमा सुतिरहेको बेला राति रुखको हाँगा लागेर खुट्टा भाँचियो । खुट्टा भाँचिएपछि मानसिक र शारिरिक तनावमा परिन् । चिकित्सकले खुट्टामा रड हाल्नुपर्ने बताए । उपचारको क्रममा धेरै औषधि सेवन गर्नुपर्ने भयो । औषधि सेवनबाट पेटभित्र हुर्किँदै गरेको भ्रुणको स्वास्थ्यमा नराम्रो असर पर्ने र उनको ज्यान नै जोखिममा जाने खतरा भयो । पति र डाक्टरबीचको सल्लाहले शल्य चिकित्सा विधिबाट अन्ततः थापा तीन महिनाको गर्भपतन गराउन राजी भइन् ।
परिवार नियोजन संघको नेपालगन्जस्थित कार्यालयमा भेटिएकी उनले प्रतिक्रिया दिइन्, ‘गर्भलाई निरन्तरता दिँदा मेरो स्वास्थ्यमा खतरा हुनसक्थ्यो । चार सन्तान छँदैछन् भनेर चित्त बुझाए र गर्भपतन गराए ।’
कालिकोटकी २९ वर्षिया मुना विष्टले भेरी अस्पताल नेपालगन्जमा औषधि सेवन गरेर ६ हप्ताको गर्भपतन गराइन् । उनका पनि दुई छोरा र एक छोरी जन्मिसकेका थिए । चौथो सन्तान जन्माउने उनको चाहाना त थियो तर स्वास्थ्य समस्या भएपछि डाक्टरले गर्भपतन गर्न सुझाव दिए । उनका पति बद्री विष्टले भने, ‘पत्नीको ज्यान जाने खतरा थियो । मैले सन्तानको माया मारेर पनि बुढीको ज्यान जोगाउने निर्णय गरे ।’
सीता र मुना मात्रै होइन, सन्तानको चाहाना भएर पनि जटिल स्वास्थ्य समस्यामा रहेका धेरै महिलाले गर्भपतन सेवा लिएर ज्यान जोखिममा पर्नबाट जोगाएका छन् । गर्भपतन सेवाले उनीहरुलाई राहत दिएको छ ।
सरकारले गर्भपतनलाई वैधानिकता दिएपछि परिवार नियोजनका साधनको असफलता, परिवार नियोजनका साधन प्रयोग नगरेकै कारण रहेको अनिश्चित गर्भ होस् वा बलात्कारबाट गर्भवति भएका किशोरी र महिलाले सजिलै गर्भपतन गर्न पाएका छन् ।
नेपालमा गर्भपतन सेवालाई वैधानिकता दिन ‘सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६०’ जारी गरिएको थियो । महिलाको प्रजनन् अधिकार सम्बन्धी विश्वव्यापी मान्यता अनुसार महिलाको प्रजनन वा गर्भपतन गर्न पाउनु महिलाको प्रजनन अधिकारमा समेटियो र देशकै सबै जिल्लामा सुरक्षित गर्भपतन सेवा विस्तार गरियो ।
सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका २०७३ ले गर्भपतन गर्ने महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ र जबरजस्ती करणी वा बलत्कारबाट रहन गएको २८ हप्तासम्मको गर्भ (महिलाको बयानको आधारमा) हाडनाता करणीबाट रहन गएको २८ हप्तासम्मको गर्भ, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा बिकलाङ्ग बच्चा जन्मन सक्ने अवस्था भएमा योग्यता प्राप्त र सूचिकृत चिकित्सकको रायमा जुनसुकै २८ हप्ता सम्मको गर्भ गर्भपतन गर्न सकिने व्यवस्था गरेको छ । तर गर्भवती महिलाको मञ्जुरी बिना ९करकाप, धम्की, ललाईफकाई, झुक्याईवा प्रलोभन देखाइ, लिङ्गको पहिचान गरी लिङ्गको आधारमा ९भ्रुणको लिङ्ग पहिचान गर्ने गराउनेलाई तीन महिना देखि छ महिनासम्म कैद र लिङ्गको आधारपमा गर्भपतन गर्ने गराउनेलाई थप एक वर्ष कैदको व्यवस्था कानुनमा छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले पनि यही कुरालाई समेटेको छ ।
अनिश्चित गर्भले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउने स्वास्थ्यकर्मीहरु बताउँछन् । जसले गर्दा मानसिक तनाव उत्पन्न हुन्छ । सोच्ने सम्झने क्षमता पनि कम हुन जान्छ । अझै डरलाग्दो कुरा त मानसिक तनावले गर्दा उक्त व्यक्तिले असुरक्षित गर्भ पतनको बाटो रोज्न सक्छन् ।
गर्भपतनले वैधानिकता पाए पनि जुनसुकै स्वास्थ्य संंस्था वा स्वास्थ्यकर्मी वा चिकित्सकले गर्भपतन गराउन पाउँदैनन् । सुरक्षित गर्भपतनको सेवाका लागि नेपाल सरकारबाट अनुमति पाएको हुनुपर्छ । त्यसका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सूचीकृत हुनुपर्छ । यस्तो सेवा केन्द्रीय, प्रादेशिक र जिला अस्पताल, निजी अस्पताल र क्लिनिक, मेरी स्टोप्स र नेपाल परिवार नियोजन संघलगायतका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा पाइन्छ ।
बाँके जिल्लामा सुरक्षित गर्भपतनका लागि ११ वटा स्वास्थ्य संस्था सूचीकृत भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिए । सूचीकृत स्वास्थ्यकर्मीको संख्या।।।छ । सबै भन्दा धेरै सूचिकृत चिकित्सक र स्वास्थ्यकर्मी भेरी अस्पताल नेपालगन्जमा कार्यरत छन् । तिनैमध्येकी एक हुन्, भेरी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा। कल्पना थापा ।
डा।थापा अस्पतालमा सेवा लिन आउनेहरु धेरैजसो अनिच्छित गर्भ बसेर समस्यामा परेका महिलाहरु हुने गरेको बताउँछिन् । ‘अधिकांश महिलाहरु पहिलो बच्चा जन्माएको एक वा दुई वर्षमै गर्भवती भएका हुन्छन् । दुई वटा बच्चाको बीचमा तीन वर्षको अन्तर हुनुपर्छ । दुई सन्तानबीचको अन्तर कम भएमा बच्चा जन्माउन निकै कष्टपूर्ण र जोखिमयुक्त हुनसक्छ’, उनले प्रष्ट पारिन्, ‘बच्चा जमाएको दुई वर्षसम्म महिलाको शरीर पहिला जस्तै पूर्णरूपले स्वास्थ्य भएको हुँदैन अनि बच्चा बोक्न र जन्माउन दुबै दुःखदायी हुनसक्छ ।’
बाँकेमा परिवार नियोजन जिल्ला शाखामा गर्भपतन सेवा छ । कार्यालयकी अधिकृत रश्मी श्रेष्ठको अनुसार सन् २०२१ मा ११७ जनाले र २०२२ मा ९२ जना दुई वर्षमा २०९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका थिए । उनी भन्छिन्, ‘हाम्रो कार्यालयमा आएका सेवाग्राहीलाई गर्भपतनपछि कुनै स्वास्थ्य समस्या देखिएको छैन ।’ त्यहाँ सेवा लिनेहरु २० वर्ष मुनिको कम छन् । २५ वर्षमाथिको संख्या नै बढी रहेको स्टाफ नर्स सुमित्रा गुरुङले अनुभव सुनाइन् । स्टाफ नर्स गुरुङले भनिन्, ‘अधिकांशलाई परिवार नियोजनका साधनबारे जानकारी भए पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गरेर अनिश्चित गर्भवति भएको भन्दै सेवा लिन आउँछन् । कतिपय त अस्थायी साधनबारे आफूलाई जानकारी नभएको पनि बताउँछन् ।’
शल्यक्रियाबाट गर्भपतन गराउने बढी
सुरक्षित गर्भपतन औषधि सेवन र औजार प्रयोगबाट गरिन्छ । बाँकेमा औषधि सेवनभन्दा औजार प्रयोगबाट गर्भपात गराउनेको संख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत आव ०७६/७७ मा २ हजार ८९८ जनाले गर्भपतनको सेवा लिएका थिए । जसमध्ये २० वर्ष मुनिको १३६ जनाले लिएका छन् । त्यसभित्र ५८ जनाले औषधि सेवन गरेर गर्भपतन र ७८ जनाले औजारद्वारा गर्भपतन गराएका हुन् । २० वर्षमाथिको महिलाहरुमध्ये ८७७ जनाले औषधि सेवनबाट गर्भपतनको र १ हजार ८५५ जनाले औजार प्रयोगबाट गर्भपतन गराइ कुल २ हजार ७३२ जनाले सेवा लिएका थिए ।
यस्तै आव ०७७/७८ मा कुल २ हजार ४४८ जनाले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भपतनको सेवा लिएका थिए । जसमा २० वर्ष मुनिको १०७ जनाले औषधि सेवनबाट गर्भपतन र १९९ जनाले औजार प्रयोगबाट गर्भपतन गरी कूल ३०६ जनाले र २० वर्षमाथिको व्यक्तिहरू मध्ये ९१७ जनाले औषधि सेवनबाट गर्भपतनको अनि १ हजार ३११ जनाले औजार प्रयोग गरी २ हजार २१८ जनाले गर्भपतन सेवा लिएका छन् । गर्भपतन सेवाले जटिल समस्यामा परेका महिलाले राहत पाएको जिल्ला स्वास्थ्य कार्यालय बाँके प्रमुख धीरजंग शाह बताउँछन् । उनी भन्छन्, ‘महिला सुरक्षाको लागि गर्भपतनको नीति ल्याएको हो । लिङ पहिचान गराएर वा असुरक्षित तरिकाबाट गर्भपतन सेवाको दुरुपयोग नगरौं ।’