अब बागेश्वरी मन्दिरमा पनि महाआरती हुने !

नेपालगन्ज : पश्चिमको शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा हरेक दिन महाआरती हुने भएको छ । काठमाडौंको पशुपतिनाथको मन्दिरलगायतमा हुने महाआरती बागेश्वरी मन्दिरमा पनि गर्न लागिएको हो ।

नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले नियमित रुपमा स्रोतको व्यवस्थापन गर्ने बताएपछि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले को व्यवस्थापनमा महाआरतीको तयारी शुरु भएको हो । नाट्टा बाँके च्याप्टरको शनिबार नेपालगन्जमा सम्पन्न दोस्रो अधिवेशनको क्रममा कार्यक्रमका सञ्चालक रहेका महासचिव झविलाल शर्माले नगर प्रमुख राणालाई आरतीबारे जिज्ञासा राखेका थिए । प्रमुख अतिथिको मन्तव्य सकेर कार्यक्रमस्थलबाट बाहिरिँदै गरेका नगर प्रमुख राणाले नाट्टाले व्यवस्थापन गरेमा बागेश्वरी गुठी र उप–महानगरपालिकाले स्रोतको व्यवस्थापन गर्ने आश्वासन दिएका थिए । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले आरतीको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘आगामी वैशाख महिनाभित्रै आरती सुरु गर्ने गरी हामीले प्रक्रिया अघि बढाउँछौं ।’ बागेश्वरी मन्दिरमा आरती हुने हो भने छिमेकी उत्तर प्रदेशका धार्मिक पर्यटकलाई आकर्षिक गर्न सकिने विश्वास गरिएको छ ।