नाट्टा बाँके दोस्रो कार्यकालको अध्यक्ष सिग्देल

नेपालगन्ज : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरमा दोस्रो कार्यकालको लागि अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित भएका छन् ।
नाट्टा बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः सिग्देलसहितको ११ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन भएको निर्वाचन अधिकृत अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए । संस्थाको उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झविलाल शर्मा, सचिवमा भागिराम वली पनि दोहोरिएका छन् । कोषाध्यक्षमा राम श्रेष्ठ, सह कोषाध्यक्षमा कुमार चाल्स श्रेष्ठ सर्वसम्मत भए । सदस्यहरूमा शम्भुकुमार बुढाथोकी, लवराज प्रधान, वेवी कुमारी मण्डल, मो. अजमल सिद्दिकी र कुलबहादुर केसी चयन भएका छन् । २ जना सदस्य मनोनित गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।