डिजिटल शिक्षण अभ्यासका लागि ‘जुनियर मेगा माइन्ड’ सार्वजनिक

काठमाडौं : विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त प्रयोगात्मक अभ्यासमा अभ्यस्त बनाउन डिजिटल बन्डल कोर्स (जुनियर मेगा माइन्डस) तयार भएको छ ।
विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित जस्ता विषयको समिश्रण (स्टिम) पाठ्यक्रम विद्यालय तहका विद्यार्थीलाई लक्षित गरिएको डिजिटल शिक्षण अभ्यास हो । अनलाइन माध्यममार्फत अध्ययन/अध्यापन हुने स्टिम पाठ्यक्रम भर्खरै विद्यालय तह प्रवेश गरेका र विद्यालय तह पार गर्ने चरणमा रहेका विद्यार्थीलाई लक्षित गरेर तयार गरिएको छ । सूचना प्रविधिमैत्री पाठ्यक्रम नीमा एकेडेमी र दूरशिक्षाको सहकार्यमा तयार भएको हो । स्टिम कोर्सको विभिन्न चरण पार गरेका विद्यार्थी रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र कोडिङका विभिन्न अभ्यासमा अब्बल बन्ने नीमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधान बताउँछन् ।
स्टिम पाठ्यक्रमले कक्षा १२ वा स्नातकतह पढ्ने बेलासम्म विद्यार्थीले आफ्नो भावी गन्तव्य तह गर्ने उनले बताए । ‘यो रचनात्मक र उच्च सिकाइको अभ्यास हो,’ प्रधान भन्छन्, ‘विद्यालय तह पार गर्ने अवस्थामा पुगेका विद्यार्थी सिक्ने होइन, सिकाउने चरणमा पुगिसकेका हुन्छन्, अर्को शब्दमा भन्नुपर्दा माध्यामिक तहको विद्यार्थी कुनै आइटी इन्जिनियर भन्दा कमजोर हुँदैन ।’
हरेक कक्षाको तहअनुसारका पाठ्यक्रम तयार भएकाले विद्यार्थी सहजै स्टिम कोर्समा घुलमिल हुन सक्ने दाबी गर्दै उनले भने, ‘जुनियर मेगामान्डस्का विद्यार्थी सफ्टवेयर र धेरै किसिमका आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्रामका लागि योग्य हुन्छन् ।’
जुनियर मेगामाइन्डसको पाठ्यक्रम कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई केन्द्रीत गरिएको छ । नियमित पठनपाठनसँगै सिक्न सकिने यस्तो अतिरिक्त विषयको रुपरेखा नीमा र दूरशिक्षाले ४ वर्ष अघि तयार गरेका थिए ।
तर, कार्यक्रम सार्वजनिक गर्न तर कोभिड संक्रमण बाधक बनेको थियो ।
शिक्षाविद्, संस्थागत र सामुदायिक विद्यालयका अगुवा, प्रविधिबारेका जानकार र अन्य सरोकारवालाहरु माँझ सोमबार ‘जुनियर मेगामान्डस’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।
प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाका संस्थागत विद्यालयसँग सहकार्य गर्ने तयारी गरेका नीमा र दूरशिक्षाले आगामी २ वर्षभित्र उपत्यका बाहिरका सामूदायिक विद्यालयमा पनि स्टिम कोषको अवधारणा पु¥याउने लक्ष्य लिएका छन् ।
विज्ञान, सूचना–प्रविधि, इन्जिनियरिङ जस्ता जुनसुकै विषयमा आफ्नो भविष्य बनाउन चाहनेहरुका लागि स्टिम कोर्ष उपयोगी हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेको दाबी छ ।
‘हाम्रो प्राथमिकता निजी विद्यालय मात्रै होइनन् । सामुदायिक विद्यालयका विद्यार्थी पनि डिजिटल लर्निङबाट टाढा हुनु हुँदैन भन्नेमा हामी प्रष्ट छौ, त्यहीअनुसार तयारीमा भइरहेको छ’, उनले भने । यस्तो पाठ्यक्रमले प्रभावकारी सञ्चार गर्न सघाउने भएकाले कुनै पनि समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने, तार्किक सोच विकास गर्दै नविनतम खोजतर्फ अघि बढ्न प्रेरित गर्ने बताइएको छ । शिक्षण सिकाइलाई जिवनोपयोगी बनाउन भएकाले कक्षा १० पुग्दै गर्दा विद्यार्थीले विभिन्न प्रकृतिका आविष्कारका नमूना र आर्टिफिसियल इन्टेलिजेन्स सार्वजनिक गर्न सक्ने दाबी गरिएको छ ।
विद्यालयको औपचारिक पाठ्यक्रमका अतिरिक्त स्टिम कोर्षलाई विश्वविद्यालय तहका पाठ्यक्रममा पनि लागू गर्न सकिने विज्ञहरुको तर्क छ । कोभिडले अध्यापक र विद्यार्थीलाई धेरथोर ई–लर्निङ सिकाएकाले ढिलो नगरी विश्वविद्यालयतहका पठनपाठन सूचना प्रविधिमैत्री बनाइनुपर्ने त्रिभुवन विश्वविद्यालयका प्रा.डा सुवर्ण शाक्य जोड दिन्छन् ।
‘विद्यार्थीलाई पढाईमा ध्यानाकर्षण गराउन, विषय र प्रसङ बुझाउन एनिमेसनसहितको ई–लर्निङ आवश्यक छ, उनी भन्छन्, ‘अब जुनियर मेगामाइन्ड मात्रै होइन, विश्विद्यालयतहलाई लक्षित गरेर सिनियर मेगामाइन्ड पाठ्यक्रम बढाउन ढिलो भइसक्यो ।’