प्रमुख दल एकै समयमा मनोनयन दर्ता गर्न आउँदा रत्न राजमार्ग ५ घण्टा बढी ठप्प

नेपालगन्ज : मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले समय सीमा तोके पनि प्रमुख दलहरुले ढिलो मनोनयन दर्ता गरेका कारण रत्न राजमार्गमा ५ घण्टाभन्दा बढी समय राजमार्ग एकतर्फी रुपमा ठप्प भएको छ ।
जिल्ला शिक्षा समन्वय इकाइ परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो १ बजेदेखि नै सत्ताधारी दल नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ताले जुलुस निकालेका कारण राजमार्ग साँझ ६ बजेसम्म पनि ठप्प भएको हो ।
नेपालगन्ज–१८ बाट मध्यान्न १२ बजेदेखि नै एमाले र कांग्रेसको वडा जुलुस निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । त्यो जुलुस एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय गएर अझै ठूलो जुलुसमा मिसिएको थियो ।
दिउँसो १ बजे पूर्वमन्त्री तथा जसपा नेता मो.इस्तियाक राई गठबन्धनबाट उप–प्रमुखका उम्मेदवार कमरुद्दिन राईलाई छाता ओढाएर जुलुससहित मनोनयन दर्ता गर्न आएका थिए । लगत्तै एमालेका नगर प्रमुखका उम्मेदवार पशुपति दयाल मिश्र र उप–प्रमुखका उम्मेदवार शान्ति ढकाल पनि दलबलसहित त्यहाँ पुगेका थिए । त्यसपछि नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्ट पनि नारा लगाउँदै निर्वाचन अधिकृतको कार्यालय पुगे । अपरान्ह ४ बजेपछि माओवादी केन्द्रका नेताहरु पनि जुलुस सहित पुगेका थिए । त्यत्तिबेलासम्म अरु दलका नेता कार्यकर्ता सडकमै थिए । वडा प्रहरी कार्यालय नेपालगन्जका सइ माधव रिजालका अनुसार साँझ ६ बजेपछि मात्र सडक खुला भएको थियो । सडक खुला भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने राति ८ बजेसम्म पनि भीँड नै थियो ।