एमाले खजुराद्वारा ११२ बुँदे प्रतिबद्धता सार्वजनिक

खजुरा : नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायतले मंगलबार खजुरामा संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

एमालेबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्ल

काठमाडौंंको बुढानिलकण्ठ स्कुलको मोडलमा खजुरामा एउटा विद्यालय सञ्चालन गर्ने, माध्यमिक तहका सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ । त्यसैगरी ५ वर्षभित्र खजुराका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ ।
एमालेबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्लले प्रतिबद्धता पत्र सिरानीमा राखेर सुत्न र कार्यान्वयन भए नभएको हेर्न खजुराबासीसँग अनुरोध गरेका छन् । उनले भने, ‘मैले प्रतिबद्धता जनाउने मात्र होइन । पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’