१२ वर्षमा नारी कल्याण सहकारीको सवा करोड शेयर पूँजी

मानबहादुर ठकुल्ला । राजापुर
‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’, भन्ने नेपाली उखान बर्दियाको एक सहकारीले पाएको सफलताले पुष्टि गरेको छ । २६ जना शेयर सदस्यको १३ हजार शेयर पूँजीबाट ९ चैत्र ०६७ मा सहकारी स्थापना भएको राजापुर नगरपालिका-९ गोडियानाको नारी कल्याण साना किसान कृषि सहकारीले एक दशकमै ठूलो छर्लाङ मारेको छ ।

स्थापनाकालको कूल शेयर पूँजीको चार गुणा त नाफा मात्रै कमाएको छ । व्यवस्थापक पार्वती चौधरीका अनुसार सहकारीमा अहिले एक करोड २० लाख पाँच हजार शेयर पूँजी छ । ५१ लाख २२ हजार त नाफा कमाएको छ । सहकारीले बिना धितोमा ५० हजार रुपैयाँसम्म र धितो राखेर १५ लाख रुपैयाँसम्म ऋण लगानी गर्छ । ६७५ जना साना–ठूला किसानलाई ऋण लगानी गरेको छ ।

सहकारी शिक्षा दिँदै, तरकारी खेती र व्यवसायमूलक कार्यक्रम सञ्चालन गरेर महिलालाई सहकारीमा आबद्ध गराउन सकेको अध्यक्ष लोकमाया कुँवरले बताइन् । कृषि अध्ययनका लागि ११ जनालाई इजरायल पठाएको सहकारीका उपाध्यक्ष मुन्नी देवी थारुले जानकारी दिइन् । ७५ वटा समूहबाट सुरु भएको सहकारीमा २४५ वटा समूह आबद्ध भइसकेका छन् । राजापुर नगरपालिका वडा नंं ४, ७, ८ र ९ लाई सहकारीले कार्यक्षेत्र बनाएको छ ।