२ वर्षपछि फेरि सत्यराम तपसी बाबा मन्दिरमा महायज्ञ सुरु

रमेशकुमार यादव । कम्दी

बाँकेको सत्यराम तपसी बाबा मन्दिरमा बिहीबारदेखि महायज्ञ सुरु भएको छ । डुडुवा गाउँपालिकाको वडा नं. ३, ४ र ५ अन्तर्गत पर्ने सो क्षेत्रमा हरेक वर्ष आयोजना गरिने महायज्ञ कोरोनाका कारण दुई वर्ष हुुन सकेको थिएन ।

सत्यराम तपसी बाबा मन्दिर संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष बडेलाल यादवका अनुसार १५ गते कलश यात्रा, १५ देखि २० गतेसम्म प्रवचन कार्यक्रम,  १७ देखि देखि १९ गतेसम्म दिब्य झाँकी र २० गते विशाल भण्डारा हुनेछ । अध्यक्ष यादवले सम्पूर्ण भक्तजनहरुलाई मन्दिरमा भागवत् प्रवचन कार्यक्रम तथा भण्डारा प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुन अपिल गरेका छन् । श्री श्री १००८ हनुमान दास मौनी बाबाबाट शुभारम्भ हुने महायज्ञमा ब्यास साध्वी रेनु शर्माद्वारा कथावाचन हुनेछ । डुडुवा गाउँपालिकाकै प्रख्यात सत्य राम तपसी बाबा मन्दिरमा राधाकृष्ण मन्दिरको प्राण प्रतिष्ठाको कार्यक्रम पनि रहेको छ । बालापुर, कम्दी, सिधानिया र हल्कारापुरको कुनै पनि यादवले भण्डाराका दिन एक थोपा दूध बेच्न पाउँदैन । दूधका परिकारबाट नै भण्डारा गर्ने भएकाले त्यो दिन कम्तीमा २५ देखि ३० क्वीन्टल दूध संकलन हुन्छ ।