नेपालगन्ज र कोहलपुरमा नगर प्रमुख, उप-प्रमुखसहित ३२ को उम्मेदवारी फिर्ता, ३ को उम्मेदवारी रद्द

नेपालगन्ज : बाँकेका दुई नगरमा प्रमुख र उप–प्रमुखका बागी उम्मेदवारसहित ३२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईका अनुुसार स्वतन्त्रबाट उप–प्रमुखकी उम्मेदवार ताराकुमारी खत्रीले उम्मेदवारी फिर्ता लिएकी छन् । माओवादी केन्द्रकी नेतृ खत्रीले सत्तागठबन्धनसँग असन्तुष्टि जनाउँदै स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन् । नेपालगन्जमा ६ जना वडाध्यक्ष, ३ जना महिला सदस्य, २ जना सदस्य र १ जना दलित सदस्यले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी कोहलपुरका निर्वाचन अधिकृत तीर्थराज भट्टका अनुसार नगर प्रमुखका स्वतन्त्र उम्मेदवार बलराम शर्मासहित १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखका आकांक्षी शर्माले टिकट नपाएपछि उम्मेदवारी दिएका थिए ।

एक वडाध्यक्षसहित ३ को उम्मेदवारी रद्द
स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्यको उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईका अनुुसार नेपालगन्ज–१७ मा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकलाई बैंंकले कालो सूचीमा राखेकाले र वाड नं. ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी वंशाकार र वडा नं ७ का सञ्जु वंशाकारले रितपूर्वक सबै डकुमेन्ट पेश नभएका कारण उम्मेदवारी रद्द भएको हो ।