निर्वाचन आचारसंहिता पालना गर्न पत्रकार प्रतिबद्ध

नेपालगन्ज : जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संवाद समूह, बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा पत्रकारहरुले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रतिवद्धता जनाएका हुन् । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, महासंघका केन्द्रीय सदस्य भरत शाह, सुशील पोखे्रल, बाँके शाखाका पूर्वअध्यक्ष रुद्र सुवेदी, बरिष्ठ पत्रकार कृष्ण अधिकारी, महासंघ बाँके शाखाका सचिव कमल डाँगी, सावीत्री गिरी, आलम खानलगायतले निर्वाचन आचार संहिता पालना गर्नु सञ्चारकर्मीको प्रमुख दायित्व भएकोमा जोड दिएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी र बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचन आचारसंहितालाई पालना गर्ने र गर्न लगाउने बातावरण सिर्जना गरिदिन सञ्चारकर्मीसँग आग्रह गरेका थिए ।सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाइले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीले पालना गर्नु पर्ने आचरण बारे अवगत गराएका थिए भने समूहका सदस्य एवं अधिवक्ता प्रहलादबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।