फेसबुक वालभरी आमाको फोटो र असल कर्मको बखान

नेपालगन्ज : माता तीर्थ औंशी अर्थात शनिबार आमाको मुख हेर्ने दिन । पौराणिक कालदेखि मनाइदै आएको यो पर्वमा आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरेर आमाप्रति सच्चा आदरभाव व्यक्त गरिन्छ । आमालाई मीठा–मीठा परिकार र कपडा उपहार पनि दिने चलन छ । सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले आमाको एकल वा आमासँग खिचेको फोटोसँगै स्टाटस लेखेका छन् । वर्षदिनमा एकदिन भए पनि अधिकांशले आमाको सुख–दुःखसँगै असल कर्मलाई स्टाटसमा बखान गरेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा माता तीर्थ औंशी मनाइन्छ । जन्म दिने, कर्म दिने, शिक्षा दिने सबै आमाहरुलाई सम्झने गरिन्छ ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।