खजुरा सीगाउँमा गठबन्धनको शक्ति प्रदर्शन

बाँकेको खजुरा–२ वाम–लोकतान्त्रिक गठबन्धनको घरदैलो । फोटोहरु : मेरो खुसी

सीगाउँ (बाँके) : स्थानीय तह निर्वाचनमा बाँकेको खजुरा गाउँपालिका–२ सीगाउँमा गठबन्धनले शक्ति प्रदर्शन गरेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रममा सयौंको संख्यामा शक्ति प्रदर्शन गरेको हो ।

संविधानसभाका पूर्वउपाध्यक्ष सांसद तथा माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदी गठबन्धनबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका डम्बरबहादुर विक ‘तुफान’, कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल, वडा नम्बर २ का माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार धनराम ओली, वडा नं. २ का वडा सदस्यहरु छवि विष्ट, वबिलाल सेन्चुरी (सुनार), प्रभा विक र मैसरी पुन सहितसँगै घरदैलो गरेकी थिइन् । भर्खरै गहुँ काटेर ठुटैठुटा भएको खेतमा पनि हुलका हुल मान्छे हिँडेका थिए ।

गाडी, मोटरसाइकल, स्कुटर, अटोरिक्सा र पैदल यात्राको जुलुसले सडक ठप्प भएको थियो । उम्मेदवारहरु घरघर पसेर भोट माग्दै प्रतिबद्धता जनाएका थिए ।

वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार धनराम ओलीले भने, ‘यति धेरै जनसहभागितामा घरदैलो हुन्छ भनेर हामीले सोचेकै थिएनौं । जनताको अपार माया छ । अब चुनाव जितिन्छ ।’ गाउँपालिका अध्यक्षका उम्मेदवार तुफान र उपाध्यक्षकी उम्मेदवार मल्लले पनि चुनाव जित्ने प्रतिक्रिया दिए ।

 

खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन गरेको छ । गाउँपालिकाका ८ वडामध्ये ४ वडा स्तरमा मात्र दुई दलको गठबन्धन छ ।

वडा नम्बर १ र ३ मा कांग्रेसले वडाध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादीका उम्मेदवारले वडा अध्यक्ष पाएका छन । अन्य ४ वडामा भने दुबै दलको एकल प्रतिस्पर्धा छ ।