निर्धन उत्थानबाट महिला आत्मनिर्भर बन्दै

नेपालगन्ज : कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शान्तिकुमार थापा मगरले १५ हजार रुपैयाँ ऋण लिएर तरकारी खेती गरिन् । व्यवसाय फस्टाउँदै जाँदा उनले ठेक्कामा ट्रक व्यवसाय सुरु गरिन् । अहिले यात्रुवाहक बस किनेकी छन् । कमाएर घर घडेरी जोडिन् ।
परसपुर नेपालगन्जकी फत्तेकुमारी जैसीले तरकारी खेती गरेर मासिक ५० हजार बचत गर्छिन् । निर्धन उत्थान लघुवित्तबाट ०६५ सालमा १० हजार रुपैयाँ ऋण लिएर किराना पसल सञ्चालन गरेकी थिइन् । सफल भइनन् । उनले ०७३ सालमा २ कठ्ठा जग्गाबाट सुरु गरेर तीन बिघामा तरकारी खेती गरिरहेकी छन् । ‘पहिले दुःख पीडा निकै सहियो’, उनी भन्छिन्, ‘पहिले एक हजार नपत्याउने छिमेकी ऋण माग्न आउँछन् । खुसी लाग्छ ।’


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीबार नेपालगन्ज आयोजना गरेको प्रदेश स्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठीमा बाँके र बर्दियाका १० जना महिलाले समूहमा आबद्ध भएर बचत गरेको, बिना धितो ऋण लिएर व्यवसाय सुरु गरेर अहिले व्यवसायी बनेको अनुभव सुनाएका थिए । परम्परागत रुपमा गरिएको खेतीपाती वा व्यवसाय निर्वाहमुखी पनि नभएको बताउँदै महिलाहरुले निर्धनबाट व्यवसायिक तालिमपछि ऋण लिएर आत्मनिर्भर बनेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको नेपालगन्जस्थित कार्यालयकी लुम्बिनी प्रदेश प्रमुख निभा श्रेष्ठले महिलालाई सशक्तिकरण गर्ने र आर्थिक रुपमा सबल बनाउने निर्धन उत्थान लघुवित्तको प्रशंशा गरिन् । उनले भनिन्, ‘यसअघि मैले निर्धनको रिपोर्ट मात्रै पढ्ने मौका पाएकी थिए । महिलाको जीवनस्तरमै सुधार भएको कुरा उहाँहरुबाटै सुन्न पाउँदा निकै खुसी लाग्यो ।’
कार्यक्रममा पत्रकारद्वय शंकरप्रसाद खनाल र लक्ष्मी तिमिल्सैनाले महिलाको प्रस्तुतीमाथि टिप्पणी गर्दै सहरी र ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन संस्थाले गरेको काम प्रशंशनीय भएको बताएका थिए । सो अवसरमा निर्धन उत्थान लघुवित्तका सिइयो जनार्दनदेव पन्तले महिलाका उद्यमबाट उनीहरु सशक्तिकरण भएसँगै रोजगारी सिर्जना भइरहेको बताएका थिए । २०४७ सालमा स्थानपना गरिएको निर्धनको देशकै ७७ वटा जिल्लामा २२ हजार केन्द्र, ५० हजार समूह, ४ लाख घरपरिवार आबद्ध भएका छन् ।