समृद्ध नेपालगन्जका लागि नगर प्रमुखका ६ उम्मेदवारबाट १२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर (सहमति पत्रसहित)

नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रबार नेपालगन्जमा आयोजना गरेको नगर प्रमुखका उम्मेदवारसँगको प्रत्यक्ष संवाद कार्यक्रममा धारणा राख्दै एमालेका पशुपति दयाल मिश्र

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले समृद्ध नेपालगन्जका लागि नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका ६ जना उम्मेदवारलाई साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । संघले शुक्रबार नेपालगन्जमा नगर प्रमुखका उम्मेदवारसँग गरेको प्रत्यक्ष संवाद कार्यक्रममा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट, नेकपा (एमाले)का पशुपति दयाल मिश्र, राप्रपाका नन्दलाल वैश्य, राप्रपा नेपालका अभय बस्नेत, स्वतन्त्र दिनेश थापा र विकासबहादुर सिंहले १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतिबद्धता पत्रमा उद्योग, वाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै समृद्ध नेपालगन्जको आधार मानिएको छ । आयातमा निर्भर कृषि उपज विस्थापन गर्न कृषि क्षेत्रको व्यवसायिकरण गरी नेपालगन्जका लागि स्थानीय उत्पादनलाई बढावा दिन, नेपालगन्ज सहरलाई जडिबुटी प्रशोधन केन्द्रको हबको रुपमा विकास गर्न र स्थानीय आवश्यकतामा आधारित औद्योगिक करिडोर निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । त्यसैगरी नगरको विकास योजना तर्जुमा र नीति निर्माणलगायतका विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्न पनि उम्मेदवारहरुले तयारको भन्दै हस्ताक्षर गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव चिरञ्जीवी ओलीले सहजीकरण गरेका थिए । कार्यक्रममा ठूलो संख्यामा उद्योगी व्यवसायीहरुले उम्मेदवारहरुसँग प्रश्नोत्तर गरेका थिए ।