नेपालगन्ज उप-महानगरपालिका उप-प्रमुखका उम्मेदवार राईद्वारा प्रतिबद्धता-पत्र सार्वजनिक

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार कमरुद्धिन राईले प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
जसपा नगर कमिटीले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री इस्तियाक राई, नगर उपप्रमुख उमा थापा मगर, गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार राई, डा. सुरेशकुमार कनोडियालगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् । नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्धिन राईले प्रतिवद्धतालाई टेकेर निर्वाचित भएपछि काम गर्नेमा जोड दिएका थिए ।
जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सर्वनकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पूर्वमन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद मोहम्मद इस्तियाक राई, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडिया, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायतले सम्बोधन गर्नु भएको थियो । प्रतिबद्धता पत्रमा भएका विषयलाई जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक हिक्मत बिकले प्रस्तुत गरेका छन् ।