समृद्ध टीकापुरका लागि मेयर र उप–मेयरका उम्मेदवारसँग ककस कार्यक्रम

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर जेसीजले टीकापुर नगरपालिकाका नगर प्रमुख र उप–प्रमुखका उम्मेदवारसँग ककस कार्यक्रम गरेको छ ।
शनिबार टीकापुरको भानुचोकमा आयोजना गरिएको ककस कार्यक्रममा
गठबन्धनका तर्फबाट नवराज रावल, एमालेका श्याम खत्री, नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु, मौलिक जरोकिलोका राजुकुमार बिष्ट र स्वतन्त्र उम्मेदवारद्वय ललित थापा र लोकबहादुर बुढाक्षेत्रीले आफ्ना धारणासहित टीकापुरको समृद्धिको मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए ।
ककस कार्यक्रममा उम्मेदवारहरुले भूमिहिन सुकुम्बासीको समस्यालाई समेत प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सामाजिक सद्भाव, औद्योगिक क्षेत्रको विकास, ब्यापार व्यवशायमा सुधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि लगायतका मुद्दा लाई समेत उम्मेदवारहरुले अघि सारेका छन ।
त्यसैगरि उपमेयरका उम्मेदवारहरुमा गठबन्धनका तर्फबाट खडक शाह, एमालेका उपमा केसी, नागरिक उन्मुक्तिका उल्कादेवी विक, राप्रपाका सरस्वती बोहरा, मौलिक जरोकिलोकी हिरादेवी थारु र स्वतन्त्र मायादेवी जैशीले आफ्ना धारणा राखेका छन । ककस कार्यक्रममा मेयर पदका उम्मेदवारहरुलाई उपस्थित नागरिकले प्रश्न राखेका थिए । नागरिकहरुले मेयरका उम्मेदवारलाई टीकापुरको आगामी कार्ययोजना लगायतका बारेमा प्रश्न राखेका थिए । मेयर र उपमेयरका उम्मेदवारहरुले जित हार जेसुकै भए पनि टीकापुरको विकासका लागि निरन्तर लागि पर्ने प्रतिवद्धता गरेका छन् । उनीहरुले लिखित रुपमै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।
ककस कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिँह रावलले राम्रो उम्मेदवार चुन्ने बेला आएको बताए । उनले जनताले टीकापुरको समग्र विकासलाई प्राथमिकतामा राखेर मतदान गरि उम्मेदवार छान्नु पर्ने बताए । कार्यक्रम टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष रुपक बिष्टले स्वागत गरेका थिए ।