नागरिक अगुवाद्वारा निर्वाचन आचारसंहिता पालनामा खबरदारी गर्ने प्रतिबद्धता

नेपालगन्ज : स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खबरदारी गर्न नागरिक अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
संवाद समूह बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा बाँकेका पेशागत संघ संगठनका प्रमुख, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी लगायतले निर्वाचन शान्तिपूर्ण बनाउनस्वयंले आचारसंहिताको पालना गर्ने र दल लगायत अन्यलाई पनि आचार संहिता कार्यान्वयनका लागि सचेत गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रिय मानवअधिकार अयोग नेपालगन्जका प्रमुख झंकर रावलले निर्वाचन आचार संहिता र मतदाता शिक्षालाई व्यापक र प्रभावकारी नबनाइएको भन्दै मतदान गर्ने शान्त र सहज वातावरण बनाइनु पर्ने बताए । निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको महत्वपूर्ण भूमिका रहे पनि निर्वाचन गराउने निकाय थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने सुझाव दिए । उच्च अदालत बार एशोसीएशन नेपालगन्जका अध्यक्ष शिवराज श्रेष्ठले निर्वाचनको मौन अवधीमा आचार संहिता उल्लघंन हुने सम्भावना रहेको भन्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड दिए । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले आचारसंहिता पालना गनुपर्नेले नै आचारसंहिता उल्लंघन गर्न उद्दत देखिएको भन्दै पालना भए नभएको नियमन गर्नुपर्ने बताए । राष्ट्रिय अपाङ्ग महासंघका सचिव भावुकजंग थापाले अपाङ्गता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने माग गरे ।
कार्यक्रममा नेपाल बार एशोसीयशनका पूर्ववरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, सिविन नेपालगन्जका प्रमुख सिद्धराज पनेरु, जिल्ला बार बाँके अध्यक्ष जनकबहादुर शाही, नियोकका प्रतिनिधि बसन्त गौतम, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित, तिवारी, थर्ड एलायन्सका क्षेत्रीय संयोजक मो.आलम खान, महिला अधिकारकर्मी कमला पन्त, फातिमा फाउण्डेशन नेपालकी अध्यक्ष मैमुना सिद्यीकी लगायतले दलका प्रचार प्रसारमा बालबालिका प्रयोग, पैंसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचार संहिताको प्रभावकारी अनुगमन तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजिकरण गरेको कार्यक्रमको उद्येश्य र महत्वमाथि संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलादबहादुर कार्कीले प्रकाश पारेका थिए ।