‘बालेन शैली’मा भोट माग्दै नेपालगन्ज-५ का वडाध्यक्षका उम्मेदवार अजिज

पूजाकुमारी वैश्य । नेपालगन्ज
फेसबुकको प्रोफाइलमा पृथ्वीनारायण र कभरमा नेपालको झन्डा राखेका सुरज धवनले केही दिन अघि स्टाटस लेखे, ‘यो नयाँ पुस्तालाई शुभकामना छ प्रिय ।’ स्टाटस मुन्तिर राष्ट्रिय झन्डा ओढेका दुई युवाको फोटो छ । एउटा छन्, काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र नेपालगन्ज उपमहानगरपालिका–५ वडाध्यक्षका स्वतन्त्र उम्मेदवार अब्दुल अजिज हल्वाइ ।

काठमाडौंमा बालेनकै शैलीमा नेपालगन्जमा ३० वर्षीय अजिजले प्रचार गरिरहेका छन् । उनको प्रचारमा चुनाव चिन्ह लौरो र नेपालको झन्डा छुट्दैन । ‘हरेक पार्टीसँग झन्डा छ । त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ तर मसँग देशको झन्डा छ । चन्द्र सूर्य अंकित झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन्’, घरदैलोमा मतदातासँग भोट माग्दै उनी भन्छन्, ‘साँच्चै नै, देशको मात्रै झन्डा बोक्ने हो भने सबै स्वतन्त्र भइने रहेछ । स्वतन्त्र मान्छेले मात्रै समाज बनाउन सक्छ । आउनुुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।’ उनले आफूलाई भोट मात्र मागेका छैनन् । लोकतन्त्रमा नागरिक सर्वोच्चताको पैरवी पनि गरिरहेका छन् । ‘हामी यस्तो अभियानमा छौं । जहाँ लोकतन्त्र र नागरिक नै सर्वोपरी हुनेछ । यसका लागि हामीले कसैको पनि देवत्वकरण वा दानवीकरण गर्ने पक्षमा छैनौँ । कसैको अहित नहुने गरेर सबैले आफ्नो विचार राख्न पाउने वा स्वतन्त्रता उपभोग गर्न पाउने हुनुपर्छ । हामी वाक्स्वतन्त्रताको सम्मान गर्छौ’, उनी भनिरहेका छन्, ‘उन्नत लोकतन्त्रका लागि नागरिक र सञ्चारमाध्यमले सरोकारवालालाई खबरदारी गरिरहनु पर्छ ।’

आर्थिक अभावका कारण उपचारमा समस्या भएको सामाजिक सञ्जालबाट थाहा पाएपछि उनले बिरामीलाई सहयोग पनि गरेका छन् । आन्द्रा फुटेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार गराइरहेका हुम्लाका सन्तोष विकलाई पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । उनको चुनावी एजेण्डा शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको छ । सरसफाइलाई पनि जोड दिएका छन् । बेरोजगारीको समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेको उनले बताए । उनी वडाबासीसँग आग्रह गरिरहेका छन्, ‘बुढाबुढीलाई टेकाउने, भ्रष्टाचारीलीई सेकाउने’ लौरोमा भोट गरी अत्याधिक बहुमतका साथ जिताउ ।’