निर्वाचन सम्बन्धी जनचेतनामूलक नृत्य प्रदर्शन

नेपालगन्ज : निर्वाचन सम्बन्धी जनचेतना जगाउन नेपालगन्जका युवायुवतीले सामूहिक नृत्य गरेका छन् । आइतबार नेपालगन्जका चार स्थानमा युवायुवतीले नृत्य गर्दै मतदाता शिक्षा दिएका हुन् ।
‘माइ भोट, माइ क्याम्पेन’ अभियन्ता पूजाकुमारी वैश्यका अनुसार नेपालगन्जको त्रिभुवन चोक, भेरी अस्पताल मूल गेट अगाडि, रामलीला मैदान र बागेश्वरी मन्दिर परिसरमा मतदाता शिक्षा दिँदै जनचेतनामूलक नृत्य गरिएको हो । गीतमा मतदान गर्नु अधिकार भएको, एक भोटले देशको मुहार फेरिने र विकास र समृद्धिको रेखा कोर्ने कुरा उल्लेख गरिएको छ । पूजा भन्छिन्, ‘निर्वाचन आयोगले मतदाता शिक्षा समेत नदिएको गुनासो गरिरहेको बेला हामीले नृत्यमार्फत निर्वाचनमा सहभागी हुन आव्हान गर्दा दर्शकका रुपमा मतदाता खुसी भएका थिए । अटो रिक्सा , मोटरसाइकल रोकेर नृत्य हेरेका थिए ।’