निर्वाचन आचार संहिता पालना गरौं : मुख्य निर्वाचन अधिकृत तिवारी

नेपालगन्ज : नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारसँग आग्रह गरेका छन् ।
संवाद समूह बाँकेले सोमबार नेपालगन्जमा स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तिवारीले उम्मेदवारले आचार संहिता पालना नगरेको बताए । उनले भने, ‘उम्मेदवार स्वयंले तडकभडक प्रचार गरेर निर्वाचन जितिन्छ भन्ने मानसिकता छ । म यस्तो मानसिकता त्याग्न उम्मेदवारलाई आहवान गर्छु । आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले पनि दण्डित गर्नेछन् । प्रमाणसहित उजुरी आएमा हामीले पनि कानुनी कारबाही गर्नेछौं ।’
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले भने स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । राप्रपाबाट नगर प्रमुखका उम्मेदवार नन्दलाल वैश्य, राप्रपा नेपालबाट नगर प्रमुखका उम्मेदवार अभय बस्नेत, नेकपा एमालेबाट नगर उपप्रमुखका उम्मेदवार शान्ति ढकाल, राप्रपाबाट उपप्रमुख उम्मेदवार बिन्दु चर्ती मगर, अधिवक्ता लोकबहादुर शाह लगायतले आचारसंहिता पालनाबारे धारणा राखेका थिए । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रल्हादबहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिताबारे प्रकाश पारेका थिए । नेपालगन्ज उपमहानगरपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट प्रमुखमा १७ जना र उप प्रमुखमा ९ जना प्रतिष्पर्धामा छन् ।