सागकी स्वर्णधारी सञ्जु झुण्डिएको अवस्थामा मृत फेला

नेपालगन्ज : १३ औं दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छन् ।
प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिएका छन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला भारोत्तोलन नेपाली खेलाडी हुन् । उनी केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन् ।
१३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्वर्गिय सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । स्व.चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए । सञ्जु सुतेको ढोकाभित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रील लगाइएको अवस्थामा फेला परेकाले प्रहरीले प्रारम्भिक अवस्थामा आत्महत्या भएको आशंका गरेको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।