बाँकेमा जो दोस्रो पटक पनि निर्वाचित भए

नेपालगन्ज : बाँकेमा आधा दर्जनभन्दा बढी वडाका जनप्रतिनिधि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपालगन्ज उपमहानगरपालिका–१ मा एमालेका प्रमोद रिजाल वडाध्यक्ष निर्वाचित भएका थिए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम सोनकरलाई ३०१ मतको अन्तरले पराजित गरेका थिए । रिजाले ८१८ मत ल्याउँदा सोनकरले ५१७ मत ल्याएका थिए । आइतबार दिउँसो सम्पन्न मतगणनामा रिजालले राप्रपाका तारामान कुँवरलाई ५४ मतले पराजित गरेर रिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका छन् । रिजालले ७८१ मत र कुँवरले ७२७ मत ल्याएका छन् । नेपालगन्ज ३ को वडाध्यक्षमा माओवादी केन्द्रबाट अयुब सिद्धिकी पनि ५१४ मत ल्याएर दोस्रोे कार्यकालका लागि विजयी भएका छन् ।
डुडुवा गाउँपालिका–१ मा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका पटेश्वर कुर्मी पनि आइतबार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुर्मीले यो निर्वाचनमा एमालेका कृष्णगोपाल यादवलाई ८२ मतको अन्तरले पराजित गरेका छन् । कुर्मीको ८४२ र यादवको ७६० मत आएको छ । यसअघि ०७४ मा ८६४ मत ल्याएर राजपा (तत्कालीन फोरम)का बद्रीप्रसाद अहिरलाई ११९ मतले पराजित गरेका थिए । अहिरले ७४५ मत ल्याएका थिए ।
बैजनाथ गाउँपालिका–१ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित रुपबहादुर मल्लको पनि यो दोेस्रो कार्यकाल हो । उनले यो वर्ष एक हजार ४४५ मत ल्याएका छन् । कांग्रेसका कपिलजंग शाहले एक हजार ४२४ मत मात्र ल्याए । उनको मतान्तर २१ रहेको छ । जबकी उनले ०७४ को निर्वाचनमा कांग्रेसका रामसिंह रोकायलाई २८६ मतको अन्तरले पराजित गरेका थिए । मल्लले एक हजार ४१४ मत ल्याएका थिए भने रोकायले एक हजार १२८ मत ल्याएका थिए ।
जनता समाजवादी पार्टीबाट जानकी गाउँपालिका १ मा मो.रज्जा राई र वडा नं. २ का बहालवाला वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । राप्तीसोनारी गाउँपालिका २ का बहालवाला वडा सदस्य ज्ञानेन्द्रराज वली यसपटक वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तहमा अझै थुप्रै जनप्रतिनिधि दोस्रो कार्यकालमा जानका लागि मतगणना पर्खेर बसेका छन् ।