खजुरा-२ : ओलीले लिए ५ वर्षपछि हारको बदला

नेपालगन्ज : ‘निरन्तर जनताको सेवा, जितका लागि धैर्यता र सांगठनिक क्रियाशीलता’ले राजनीतिमा सफलता मिल्छ भन्ने कुराको उदाहरण बनेका छन्, खजुरा गाउँपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष धनराम ओली । स्थानीय तह निर्वाचन-२०७४ मा एमाले गढमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका ओली उमेरले आफूभन्दा ११ वर्ष जेठा ५६ वर्षीय एमाले नेता देवीलाल शर्मासँग ७४० मत अन्तरले पराजित भएका थिए । शर्मा दुई हजार २४० मतले विजयी भएका थिए । वडाध्यक्षका चार जना उम्मेदवारमध्ये कांग्रेसका गान्धी हमालभन्दा ओलीको मत झन्डै तेब्बर थियो । राष्ट्रिय जनमोर्चाका गजेन्द्र नेपालीले त ३ मत मात्र पाएका थिए ।
हारे पनि ओलीले हार मानेनन् । निरन्तर जनताको सेवामा लागे । पार्टी निर्माण अभियानमा उत्तिकै जुटे । माओवादी केन्द्रले उनलाई खजुरा गाउँपालिका कमिटीको सचिवको जिम्मेवारी दियो । योग्यता, क्षमता र पार्टीको पदीय जिम्मेवारीले गाउँपालिका नै हाँक्न सक्ने हैसियतमा पुगेका ओलीले आफ्नै वडा बनाउने अठोट गरे ।

भेरी अस्पताल विकास समितिको सदस्यको जिम्मेवारी रहँदा कोरोनाकालमा उनले बिरामीलाई गरेको सेवा र सहयोगबाट वडामा मात्र होइन, जिल्लाभर नै चर्चा चुलिएको थियो । स्थानीय तहमा फेरि पनि वडाध्यक्षमा ओलीले उम्मेदवारी दिने कुराले पार्टी इतरका बौद्धिक जमात सकारात्मक बनेका थिए । खुसी देखिन्थे ।

सत्ताधारी ५ दलले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा केन्द्रबाट गठबन्धन गरे तर नगरपालिका र गाउँपालिकामा स्थानीय स्तरमा गठबन्धन बनाउने छुट दिइयो । जिल्लाका अरु पालिकामा सत्तागठबन्धन एक्ला एक्लै मित्रवत् प्रतिष्पर्धामा रहेको बेला खजुरामा भने माओवादी केन्द्र र कांग्रेसको वाम-लोकतान्त्रिक गठबन्धन बनाइयो । त्यो पनि खजुरा गाउँपालिकाको १, २, ३ र ४ नं. वडामा मात्र । वडा नं. २ माओवादी केन्द्रको पोल्टामा प-यो । गठबन्धन बन्नु पनि जितका लागि ओलीलाई सहज बाटो बन्यो । नेकपा एकीकृत समाजवादीले एमालेको भोट काट्दा गठबन्धनलाई चुनाव जित्न केही राहात हुन्थ्यो । निर्वाचन नजिकिँदै गर्दा वडाका बहालवाला सदस्य तथा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नन्दलाल गुर्ताल डेढ सय जनाभन्दा बढी कार्यकर्तासहित एमाले प्रवेश गरे तर पनि ओलीले अघिल्लो निर्वाचनमा एमालेले ल्याएको हाराहारी अर्थात दुई हजार ४२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका समरबहादुर खत्रीलाई ३७८ मत अन्तरले हराएका छन् । खत्रीले २ हजार ५१ मत ल्याए । खजुरा-२ मा गठबन्धनबाट माओवादी केन्द्रकी महिला सदस्य मैसरी पुन विजयी भइन् । दलित महिला सदस्य सीता विक, खुल्ला सदस्य मीना सुनार र अर्का खुल्ला सदस्य लक्ष्य विक ३ सदस्य एमालेले जितेको छ । एमाले लाल किल्लामा जित्नुमा ओलीप्रतिको क्रेज र लोकप्रिय मतले पनि भूमिका खेलेको छ ।