एउटा वडा जितेर कांग्रेसका नरेन्द्र डुडुवामा र ५ वडा जितेर तुफान खजुरा अध्यक्ष निर्वाचित (सूचीसहित)

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष तथा खजुरा गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसको वाम लोकतान्त्रिक गठबन्धनले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

डुडुवा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी र उपाध्यक्षमा साहिदा बानो दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कांग्रेसले गाउँपालिकाको ६ वडामध्ये वडा नं. १ मा दोस्रो कार्यकालका लागि पटेश्वर कुर्मीलाई मात्र जिताउन सकेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडा नं. १ मा कुर्मी र वडा नं. २ बाट गजेन्द्र कैराती जितेको थियो । यो वर्ष वडा नं. २ गुमाएको छ ।
जनता समाजवादी पार्टीले वडा नं. २ मा दुर्गाप्रसाद वर्मा, वडा नं. ३ बाट आमोद तिवारी र वडा नं.४ मा सगिर खाँलाई प्यानलै जिताए पनि भण्डारीलाल यादवले गाउँपालिकाको अध्यक्ष जित्न सकेनन् । अघिल्लो निर्वाचनमा पनि जसपा (तत्कालीन फोरम नेपाल) २ वटा वडा जितेर अध्यक्ष र उपाध्यक्षमा निकटतम् प्रतिद्वन्द्वी बनेको थियो । वडा नंं ३ मा भण्डारीलाल यादव र वडा नं. ४ मा सगिर खाँ निर्वाचित भएका थिए । वडा नं. ३ का वडाध्यक्ष भण्डारीलाल नै जसपाबाट यो निर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका थिए । तीन तीन वटा वडा जित्दा पनि यादवले गाउँपालिका जित्न सकेनन् ।
अघिल्लो निर्वाचनमा वडा नं. ५ मात्र जितेको एमालेले यो निर्वाचनमा भने वडा नं. ५ मा झन्कबहादुर थापा र वडा नंं. ६ मा मोहनराम मिश्रलाई जिताएको छ । मिश्र अघिल्लो निर्वाचनमा फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए ।
खजुरा गाउँपालिकामा भने नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर विक तुफान अध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्र र कांग्रेसबीच गाउँपालिकामा गठबन्धन बनेकाले कांगे्रसबाट मञ्जु मल्ल उपाध्यक्षमा जितेकी छन् । अघिल्लो निर्वाचनमा एमालेको निकटतम् प्रतिद्वन्द्वी बनेका तुफान यो निर्वाचनमा हारको बदला लिंदै ५ वटा वडा जितेर गाउँपालिका अध्यक्ष भएका छन् । माओवादी केन्द्रबाट वडा नं. २ मा धनराम ओली, वडा नं. ४ मा टेकबहादुर रोका क्षेत्री, वडा नं. ५ मा गरिबे शेष, वडा नं. ६ मा फारुक शेष र वडा नं. ७ मा रामगोपाल यादव माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा वडा नं. ३ मा कान्तुराम गौतम मात्र निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनका निकटतम् प्रतिद्वन्द्वी बनेका माओवादीका ४ वटा उम्मेदवारले यो निर्वाचनमा हारको बदला लिएका छन् ।
निर्वाचनमा कांग्रेसबाट खजुरामा वडा नं. १ मा मनवीर खत्री र वडा नं.८ मा कांग्रेसका फिरोज खाँ निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा काग्रेसबाट वडा नं. ५ मा देवेन्द्रमान श्रेष्ठ, वडा नं. ८ मा फिरोज खान निर्वाचित भएका थिए ।
एमालेले यो निर्वाचनमा वडा नंं. ३ मा पूर्णबहादुर भण्डारीलाई मात्र जिताउन सकेको छ । अघिल्लो निर्वाचनमा किश्मतकुमार कक्षपति अध्यक्ष र एकमाया विक उपाध्यक्ष जितेको एमालेले वडा नं. १ मा सुमन मल्ल, वडा २ मा देवीलाल शर्मा, वडा नं. ४ तिलकवीर सुनार, वडा नं. ६ मा साबिर जोलाह, वडा नं. ७ मा अति उल्ला खाँ निर्वाचित गरेको थियो । ५ वटा वडाबाट एमाले एउटैमा सिमित भएको छ । वडा नं. १ का बहालवाला वडाध्यक्ष सुमन मल्ल गाउँपालिकाको अध्यक्षमा पराजित भएका छन् । एमालेले जितको विरासत कायम गर्न सकेको छैन ।