चोरी तस्करीले सत्ती भन्सारले १० महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व मात्र संकलन

मानबहादुर ठकुल्ला । टीकापुर
बढ्दो चोरी तस्करीले कैलालीको सत्ती भन्सार कार्यालयले चालु आथिक वर्षको १० महिनामा लक्ष्यको ६२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहका अनुसार गत चैत्र महिनामा लक्ष्यको २५ प्रतिशत मात्र राजस्व संकलन भयो । चैत्रमा १८ लाख ४६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । ४ लाख ५७ हजार मात्र संकलन भयो । वैशाखमा १ प्रतिशत बढेर २६ प्रतिशत मात्र पुग्यो । १८ लाख ३३ हजार राजस्व संकलनको लक्ष्यमा ४ लाख ८५ हजार मात्र संकलन भएको छ । चैत्र र वैशाख महिना मात्र होइन, चालु आर्थिक वर्षमा साउन (१४०.४८ प्रतिशत) र भदौ (११४.५४ प्रतिशत) बाहेक त्यसपछिका कुनै महिनामा लक्ष्य पूरा गर्न सकेको छैन । असोज (७३ प्रतिशत), कार्तिक (६२.७६) र मंसिर (६४ प्रतिशत)मा लक्ष्यको ६३ प्रतिशत राजस्व संकलन भएको छ । पुस (३९ प्रतिशत), माघ (३७ प्रतिशत) र फागुन (४१ प्रतिशत)मा त लक्ष्यको आधा पनि संकलन भएको छैन ।
साउनमा एक करोड ७२ लाख, भदौमा एक करोड ९० लाख, असोजमा एक करोड २० लाख, कार्तिकमा एक करोड ९ लाख, मंसिरमा एक करोड १३ लाख, पुसमा ६९ लाख ५४ हजार, माघमा ६१ लाख ४२ हजार, फागुनमा ७३ लाख एक हजार, चैत्रमा ४५ लाख ६९ हजार र वैशाख महिनामा ४ लाख ५७ हजार रुपैयाँराजस्व संकलन भएको कार्यालयका नायब सुव्वा तुलसीप्रसाद चौधरीले जानकारी दिए ।
चोरी तस्करी बढेपछि भन्सार कार्यालयले गस्ती बढाएको छ । सोमबार राति मात्रै अबैध सामान नियन्त्रणमा लिएको थियो । राति करिब १० बजे खक्रौलाघाटबाट से १ ह २७१७ र सु.प.प्र ०१ ००१ ह ३०५९ नम्बरको अटो अबैध दुई अटो रिक्सासहित आठ लाख रुपैयाँ बराबरको हाडवेयरका सामान र मोटरपार्टस लगायतका सामान बरामद गरेको कार्यालय प्रमुख शाहले बताए । चोरी तस्करी नियन्त्रणका लागि भन्सारले आफ्नो गस्तीलाइ तिब्रता दिएको जनाएको छ ।