नरैनापुरको प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

प्रहरी हिरासतमा रहेकै बेला मृत्यु भएका नरैनापुर–५ मटेहियाका ३५ वर्षीय रामपाल यादवकी ५० वर्षीया आमा मुनका यादव इप्रका परिसरमा । फोटो : मेरो खुसी

मटेहिया (बाँके) : बाँकेको नरैनापुरमा प्रहरी हिरासतमा रहेका एक जना थुनुवाको रहस्यमय मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरको हिरासतमा रहेका नरैनापुर–५ मटेहियाका ३५ वर्षीय रामपाल यादवको मृत्यु भएको हो । यादवलाई गाउँकै ७० वर्षीया महिलामाथि जबरजस्ती करणी उद्योगको अभियोगमा मंगलबार मध्यराति १२ बजे प्रहरीले पक्राउ गरेको थियो । घटनाबारे मृृतकको परिवार, डाक्टर, जजकको अभियोग लगाउने महिला र प्रहरीको भनाइ एकापसमा बाझिएकाले पनि मृत्यु रहस्यमय भएको छ ।
इप्रका भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर सुनारले उल्टी गरेकाले भेरी अस्पताल नेपालगन्ज उपचार गर्न लगेको र उपचारकै क्रममा मृत्यु भएको बताएका छन् । मृत्यु कहाँ, कुन कारणले र कसरी भयो भन्नेबारे एकिन नभए पनि बुधबार दिउँसो २ः२५ बजे भेरी अस्पतालले यादवलाई मृत घोषणा गरेको थियो । भेरी अस्पतालको इमरजेन्सीमा कार्यरत डा. मेघा मण्डलले भने अस्पताल आउनु अघि नै यादवको मृत्यु भइसकेको मेरो खुसीलाई बताइन् । डा.मण्डलले भनिन्, ‘अस्पताल आउँदा मृृत्यु भइसकेको थियो । हामीले इसीजी ग-यौं र डेथ नोट लेखेका हौं ।’
मृतककी ५० वर्षीया आमा मुनका यादवले भने गाउँका ५ जना युवालाई किटानी जाहेरी दिएकी छन् । प्रहरी हिरासतमा युवकको मृत्यु भएपछि बुधबार स्थानीयले इलाका प्रहरी कार्यालयमा विरोध प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जजक र कर्तव्य ज्यान दुबै मुद्दाको जाहेरी लिएको बताउँछन् । उनले भने, ‘प्रहरीकै कमजोरी वा लापरबाहीले मृत्यु भएको हो भने पनि हामी अनुसन्धान गछौं । निर्दोष नफसोस् र दोषी नउम्कियोस् भनेर प्रहरीले काम गर्छ ।’