५ वर्षअघि वडाध्यक्ष हारेका आचार्यले एमाले लालकिल्ला कोहलपुरमा ३१ वर्षपछि कांग्रेस जिताए

नेपालगन्ज : स्थानीय तह निर्वाचन ०७४ मा नेपाली कांग्रेसबाट कोहलपुर नगरपालिकाको वडा नं. ८ मा ३१ वर्षीय पूर्णप्रसाद आचार्यले ५६ मतले वडाध्यक्षमा हारेका थिए । निर्वाचनमा नेकपा एमालेका रेशमबहादुर खत्री ७८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए । आचार्यले ७२५ मत मात्र पाएका थिए । १२ वर्षमा खोलो फर्किन्छ भनिन्छ तर आचार्यले त पाँच वर्षमा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएर एमाले लालकिल्ला तोडेका छन् । त्यो पनि ३१ वर्षपछि । अघिल्लो निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका लुटबहादुर रावत २ पटक कोहलपुर गाविसको अध्यक्ष भएका थिए । ०४८ सालदेखि कोहलपुरमा एमालेबाट रावतले जित्दै आएका थिए ।
स्थानीय तह निर्वाचन ०७९ मा कांग्रेसका आचार्यले एमालेका खिलप्रसाद भुसाललाई १ हजार ९२९ मतान्तरले विजयी भएका हुन् । आचार्यले १४ हजार १३४ र भुसालले १२ हजार २०५ मत ल्याएका छन् । माओवादी केन्द्रका नरेन्द्र न्यौपाने ९ हजार ७२५ मत ल्याएर तेस्रो, राप्रपाका प्रदीपजंग शाहले २ हजार ३६ मत र स्वतन्त्र उम्मेदवार देवानन्द अर्र्यालले ५५१ मत ल्याएका छन् । त्यस्तै उप प्रमुखमा कांग्रेसकै संगिता सुवेदीले एमालेकी अस्मिता थारुलाई ९१७ मतान्तरले पराजित गर्दै विजयी भएकी छन् । सुवेदीले १४ हजार ७३ मत र थारुले १३ हजार ५१७ मत ल्याएकी छ्न् ।