देशभरका ९ केन्द्रीय अस्पतालमध्ये न्यूनतम् सेवा मापदण्डमा भेरी अस्पताल उत्कृष्ट

नेपालगन्ज : नेपालका केन्द्रीय अस्पतालमध्ये नेपालगन्जको भेरी अस्पताल न्यूनतम् सेवा मापदण्ड (एमएसएस) कार्यान्वयनमा लगातार दोस्रो वर्ष उत्कृष्ट भएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागबाट डा.रोशन न्यौपाने नेतृत्वको ६ सदस्यीय टोलीले भेरी अस्पताल न्यूनतम् सेवा मापदण्ड कार्यान्वयनको अवस्थाबारे तीन दिन लगाएर गरेको अध्ययन मूल्याङ्कनमा १०० अंकमध्ये ६७ अंक सहित उत्कृष्ट भएको विभागमा कार्यरत डा.नरेन्द्रकुमार खनालले जानकारी दिए ।

मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा विभागले उत्कुष्ट घोषणा गरको हो । विभागको उपचारात्मक सेवा महाशाखामा बरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट खनालले भने, ‘देशभर केन्द्रीय अस्पताल त १७ वटा छन् । तीमध्ये न्यूनतम् सेवा मापदण्ड लागू भएका अस्पतालमध्ये ९ वटामध्ये भेरी उत्कृष्ट भएको हो ।’ गत वर्ष पनि भेरी ६१ अंकसहित उत्कृष्ट बनेको थियो । भेरीको यो वर्ष ६ अंक बढेको छ । अन्य अस्पतालको ५४ अंकभन्दा बढी नपुगेको विभागले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.संकेत रिसालले हरेक वर्ष एक पटक हुने मूल्याङ्कनमा लगातार दुई वर्ष उत्कृष्ट भएकाले अस्पतालले गुणस्तरीय सेवा दिइरहेको जिकिर गरे ।