नेपालगन्जमा युवा लक्षित कार्यक्रमका लागि युवाको ११ बुँदे माग
पूजाकुमारी वैश्य । नेपालगन्ज
युवा लक्षित कार्यक्रम सञ्चालनबारे ध्यानाकर्षण गराउँदै नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वलाई बाँकेका युवाहरुले माग पत्र पेश गरेका छन् ।
जिल्ला युवा क्लब सञ्जाल बाँकेको लेटर प्याडमा युवाको क्षेत्रमा काम गर्ने १९ वटा संस्थाको तर्फबाट जिल्ला युवा क्लब सञ्जालका अध्यक्ष आशिष वर्माले मंगलबार नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईलाई ११ बुँदे माग पत्र पेश गरेका हुन् ।
युवाहरुले बेरोजगारी, स्वरोजगारी , महिला सुरक्षा , बाल (बालिका मैत्री नगर , युवाहरुको सूचनामा सहज पहुँच , विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निःशुल्क प्याडको व्यवस्था गर्नुपर्ने, युवालाई लागूऔषधबाट बचाउन प्रभावकारी योजना ल्याउनुपर्ने, रोजगारको लागि सीपमूलक तालिम, व्यवसाय गर्न कम ब्याज दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । नगर प्रमुख विष्टले युवाहरुको सवाल र समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले युवाहरुको जोस् जागर र क्षमता उजागर गर्न युवा नीति २०७६ पास गर्ने बताए ।