जिसस बाँके उप-प्रमुखमा कांग्रेसकी कार्की निर्विरोध

नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेको उप–प्रमुखमा नेपाली कांग्रेसकी नेतृ सीता कार्की निर्विरोध निर्वाचित भएकी छन् ।
मुख्य निर्वाचन अधिकृतको नेपालगन्जले बुधबार दिउँसो उप–प्रमुखका उम्मेदवारको नामावली प्रकाशन गरेकोमा कार्कीको नाम मात्र छ । अर्थात कार्की निर्विरोध निर्वाचित भएकी हुन् । यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत् रुपमा निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन ।
प्रमुखमा भने कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र जनता समाजवादीका उमेशकुमार कुर्मीको उम्मेदवारी परेको छ । चौधरी जिससका निवर्तमान उप–प्रमुख हुन् । यस्तै दलित÷अल्पसंख्यक सदस्यमा पनि निर्विरोध भएको छ । जगदिश बाल्मिकी, उदय नारायण मिश्र, जुल्फेकार अली मनिहार र सन्त कुमार थारु निर्विरोध निर्वाचित हुनुभएको छ । तीन जना महिला सदस्यका लागि भने चार जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ताको समय बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म तोकिएको छ । समितिका पदाधिकारी तथा सदस्य निर्वाचनका लागि जेठ २७ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने समय दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुने व्यवस्था छ । १६ जना मतदाता रहेकोमा कांग्रेस एक्लैको १२ मतदातासहित बहुमत छ ।