सुन्दर हरिजनको कारागारमा मृत्यु हुनुमा जेल प्रशासनका दर्जन बढी गल्ती (रिपोर्टसहित)

नेपालगन्ज : बाँकेका मानव अधिकारकर्मीले ४ जेठमा रोल्पा कारागारमा आत्महत्या गरेका नेपालगन्ज उप–महानगरपालिका–२ घरवारी टोलका १७ वर्षीय सुन्दर हरिजनको मृत्युमा जेल प्रशासनका दर्जनौं गल्ती औल्याएका छन् ।
इन्सेकका भोला महत, एड्भोकेसी फोरमका वसन्त गौतम, उच्च अदालत बार एशोसियसनका झविन्द्र पौडेल, एफडब्लुएलडीका सुनिककुमार श्रेष्ठले जेठ १८–२३ सम्म बाँकेदेखि रोल्पा कारागारसम्म पुगेर गरेको स्थलगत अध्ययनको मंगलबार नेपालगन्जमा सार्वजनिक रिपोर्टमा जेल प्रशासनका दर्जन बढी गल्ती औंल्याइएको हो ।
इन्सेकका लुम्बिनी प्रदेश संयोजक महतले प्रस्तुत गरेको रिपोर्टमा जेल प्रशासनले एउटा कैदीबन्दीले पाएको सजाय अर्कोले भोग्ने गरी कैदीपूर्जी र व्यक्तिसमेत साटिएको घटनालाई कारागार प्रशासनको मिलोमतो र गम्भीर लापरवाही भनिएको छ ।
२८ पुस २०७७ मा थुना मुक्त हुनुपर्ने कैदी हरिजन ४८ हजार पाँच सय रुपैयाँ जरिवाना तिरेर थुना मुक्त गरिए । उनी कागजातमा मात्र मुक्त भए । कारागारमै राखिए । उनको सट्टा विजय विक्रम शाहलाई थुनामुक्त गरियो । शाह हातहतियार तथा खरखजाना र अपराधिक लाभ मुद्दामा पुर्पक्षको रुपमा कारागारमा राखिएका शाह मुक्त लगत्तै फरार भए । बाँकेमा रहेका दुबै जनालाई रोल्पा स्थानान्तरण गरी हरिजन मुक्त हुनुपर्नेमा शाहलाई मुक्त गराइएको थियो । थुना मुक्त भइसकेका हरिजनले कारागारको शौचालयमा आत्महत्या गरेपछि मात्र कैदी सट्टापट्टा गरेको रहस्य खुलेको हो ।
बाँके कारागारमा जेल जीवन बिताइरहेका हरिजनलाई रिहाइको समय नजिकिदै गर्दा आफन्त भएको बिरानो ठाउँमा ‘आफन्त भएको पाएक पर्ने स्थान भनेर स्थानान्तरण’ गरिनु, त्यसको पुष्टि गर्ने आधार नहुनु, स्थानान्तरण निवेदनमा हरिजनको सही र कैदीपूर्जीमा हस्ताक्षर शंकास्पद हुनु, कैदी स्थानान्तरण गर्दा कानुनी र प्रक्रियागत रुपमा आवश्कय कागजात पूर्ण नभएको, कैदीले भनेको आधारमा हचुवाको भरमा सारिएको, सार्दा सुरक्षा संवेदनशीलता र आवश्यक प्रमाणहरुको उपयुक्त विश्लेषण नगरिएको, कैदीले भने बमोजिम रोल्पामा आफन्त बसोबास गरेको र कोही पनि भेट्न रोल्पा कारागार गएको अभिलेखमा नभेटिनुलाई त्रुटिको रुपमा लिइएको छ ।
मृतक हरिजनले विजय विक्रम शाहको नामको बिरामी पूर्जीबाट १३ वैशाखमा रोल्पा नगरपालिकाको स्वास्थ्य शाखामा र १४ वैशाखमा स्वास्थ्य कार्यालय रोल्पामा स्वास्थ्य उपचार गरेको देखिन्छ ।
बाँके कारागारबाट कैदी बुझाउँदा रोल्पा कारागारलाई स्पष्ट पहिचान नखुलाइ हचुवाको भरमा बुझाएको र रोल्पा कारागारले कैदीको एकीन पहिचान नगरेर बुझ्ने काम गरेको, दुई फरक उमेर समूह र जातिगत समूहका व्यक्ति भए पनि बोलीचाली, भाषाका आधारमा पनि अदालतले नियन्त्रण र निगरानी नगरेको, कारागारभित्र एक कैदीबन्दीको नामबाट अर्कोले फोन गर्नु र त्यसमा कारागारको ध्यान नपुग्नुलाई पनि प्रतिवेदनमा गम्भीर लापरबाही भनिएको छ ।
त्यस्तै रोल्पा कारागारमा कैदीबन्दीलाई सहज रुपमा आत्महत्या गर्न सक्ने गरी कमजोर भौतिक संरचना रहनुले पनि घटना भएको उल्लेख छ ।

राज्यको नियन्त्रणमा रहेको व्यक्ति सजिलै साटिनु, एक व्यक्तिले अर्को व्यक्तिले भोग्नुपर्ने कैद भोग्नु, पहिचान बदल्दा समेत कारागार प्रशासनको ध्यान नपुग्नु, विजय विक्रम शाह सुन्दर हरिजनको नामबाट छुट्ने बेलामा आफन्त कोही छैनन् भनेर स्थानीय पत्रकारको रोहवरमा छुट्नुलाई कारागार प्रशासनको गम्भीर लापरबाही र गैरजिम्मेवारीपनाको पराकाष्टाको रुपमा रिपोर्टमा उल्लेख छ ।
अध्ययन समितिका सदस्य अधिवक्ता वसन्त गौतम कैदी साट्ने कुरा कैदीले मात्र गर्न नसक्ने काम भएकाले जेल प्रशासनको मिलोमतो रहेको आशंका गर्दै उनीहरुमाथि छानबिन गर्न माग गर्छन् । नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष सुनिल श्रेष्ठ त पोष्ट मार्टमको रिपोर्टकै आधारमा आत्महत्या भन्न नसकिने भन्दै यस विषयमा पनि छानबिन गर्न सरकारसँग माग गर्छन् ।
रोल्पा कारागारमा कैदीको आत्महत्या प्रकरणलाई गृहप्रशासन र प्रहरी बिनाको उच्च स्तरीय समितिबाट छानबिन गर्नुपर्ने, नाबालकको विषयमा अनुसन्धान गर्ने अनुसन्धान अधिकारी, अभियोजनकर्ता (सरकारी वकिल), प्रतिरक्षी कानुन व्यवसायी, अदालतको फैसलाका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने अधिवक्ता लोकबहादुर शाहले माग गरेका छन् । उनी भन्छन्, ‘कारागारभित्र आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन जरुरी छ ।’