राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास

बाँकेको राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिँदै । फोटोहरु सौजन्य : रुपन ज्ञवाली

सिधनिया घाट (कम्दी) :  बाँकेको राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ ।
बाढीमा फसेका व्यक्तिको वर बोट, मोटर बोट, गोताखोरको प्रयोगबाट खोज तथा उद्दार, वेपत्ताको खोजी, घाइतेको प्राथमिक उपचार विधिलाई अभ्यासमा देखाइएको थियो ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम-युएन माइग्रेसन)को प्राविधिक सहयोगमा राप्ती नदीको सिधनिया घाटमा सोमबार कृत्रिम घटना अभ्यास गरिएको हो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्माले प्रदेश, जिल्ला तथा स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्दारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्का काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको बताए । विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने उनको भनाइ थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, नेपाली सेनाका उपरथी उत्तमकुमार विष्ट, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी, जिल्ला समन्वय उप–प्रमुख सीता कार्की, डुडुवा गाँउपालिका उपाध्यक्ष साहिदा बानु, जिल्लाका सुरक्षा प्रमुखहरु ,गृह तथा संघीय मामिला तथा सामान्य मन्त्रालयका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, रेडक्रस बाँकेका पदाधिकारीको सहभागिता रहेको थियो ।