थारु समुदायमा सिकलसेल/थालेसिमिया जनस्वास्थ्य समस्याको रुपमा छ : डा.पाण्डे

नेपालगन्ज : सिकलसेल विज्ञ डा. राजन पाण्डेले पश्चिम नेपालका थारु समुदायमा सिकलसेल र थालेसिमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको बताएका छन् ।

डा. राजन पाण्डे

पश्चिम नेपालमा सिकलसेल÷थालेसिमिया रोगबारे अध्ययन/अनुसन्धान गरेका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले सोमबार नेपालगन्जमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा सिकलसेल र थालेसिमियाको खतरा सबै समुदायमा भए पनि थारु समुदायमा भने जनस्वास्थ्य समस्याको रुपमा रहेको बताए । उनले भने, ‘कम्तीमा जनसंख्याको एक प्रतिशतलाई रोग समस्याको रुपमा पाए जनस्वास्थ्य समस्या मानिन्छ । बाहुन, क्षेत्री सबैमा भेटिएको छ तर न्यून समस्या छ । बाँके, बर्दिया, दाङ र कैलालीका थारु समुदायमा कम्तीमा १० भन्दा बढीमा पाइएको छ । यो जनस्वास्थ्य समस्या हो ।’
सिकलसेल र थालेसिमियाको विस्तार रोक्न रगत जाँच गरेर मात्रै विवाह गर्न सिकलसेल विज्ञ डा. राजन पाण्डेको सुझाव छ । उहाँले कक्षा ९ र १० मा अध्ययनरत विवाह गर्ने उमेर समुहका बालबालीकालाई सिकलसेलका बारेमा जानकारी दिने र उनिहरुको स्वास्थ्य जाँच गर्ने काम भइरहेको बताउनुभयो । हाल बाँके, बर्दिया कैलाली लगायत पश्चिम नेपालका करिब ९ सय जनाले भेरी अस्पतालबाट सिकलसेलको उपचार सेवा लिइरहेका छन् । यो समस्या सबैमा देखिने भएपनि बढी थारु समुदायमा देखिएकाले यसबारे सचेत रहन उहाँको सुझाव छ । सरकारले सिकलसेलका बिरामीलाई एक लाख बराबरको उपचार सेवा दिने गरेको छ
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले पछिल्लो समयमा स्वास्थ्य जाँच गर्न थालेपछि यो समस्या देखिन थालेको हो । बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुरमा सिकलसेल धेरै पाइएपछि स्वास्थ्य जाँच सुरु गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बताए । जिल्लामा ४ सय जनाको स्वास्थ्य जाँच गर्दा ६३ जनामा सिकलसेल समस्या देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । सिकलसेल र थालेसिमिया नसर्ने रोग भएपनि वंशाणुगत रुपमा हुन्छ । सिकलसेल र थालेसिमिया शरिरमा रगतको कमी हुने भएकाले यसको तत्काल उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।