बिहे गर्न अनिवार्य रगत परीक्षण !

थारू समुदायको जनस्वास्थ्य समस्या सिकलसेल/थालेसिमिया रोगबाट जोगिन रगत परीक्षण गरेर सिकलसेल/थालेसिमियाको कुण्डली भिडाउनु पर्छ
भेरी अस्पताल नेपालगन्जमा उपचार गर्न आएका सिकलसेलका पहिलो बिरामी । फोटो सौैजन्य : डा.राजन पाण्डे

शंकरप्रसाद खनाल । नेपालगन्ज
बर्दियाको राजापुर नगरपालिकाका २४ वर्षका रमेश थारु (नाम परिवर्तन) र २२ वर्षकी सुनिता चौधरी (नाम परिवर्तन)बीच गत वैशाखमा विवाहको कुरो चल्यो । तर, निचोडमा पुग्न पढाइ, धन सम्पत्ति, पारिवारिक स्थिति, आनीबानी भन्दा पनि सिकलसेल/थालेसिमिया भए नभएको कुरालाई आधार बनाइयो । त्यसपछि भेरी अस्पताल आएर रगत परीक्षण गराए ।
‘रमेश थालेसिमियाको वाहक भएको थाहा भयो । सुनिता स्वस्थ थिइन । मैले विवाह गर्न मिल्छ भनेर पठाए’, सिकलसेल÷थालेसिमिया विज्ञ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे भन्छन् । डा.पाण्डेका अनुसार राजापुरबाट अरु दुई जोडी पनि रगत परीक्षण गरेर विवाह गर्न मिल्ने भनेर ढुक्क भएर गए । यी जोडीमध्ये कसैलाई सिकलसेल/थालेसिमिया थिएन ।
बर्दियाकै बारबर्दिया नगरपालिकाका २५ वर्षका धनीराम थारु र २३ वर्षकी बासमति दहित (नाम परिवर्तन)को परिवारले विवाह पक्का गरेछन् । जेठको तेस्रो साता उनीहरुले पनि भेरीमा सिकलसेल/थालेसिमिया भए नभएको थाहा पाउन रगत परीक्षण गराए । बासमति थालेसिमियाको वाहक थिइन् । धनीराम स्वस्थ थिए । उनीहरु पनि विवाह गर्न मिल्ने भन्दै खुसी हँुँदै घर फर्के । बारबर्दियाकै अर्को जोडी पनि रगत परीक्षण गराएर ढुक्क भएर गएको थियो । डा.पाण्डेका अनुसार छ महिना यता थारू समुदायका युवायुवती विवाह गर्नकै लागि जोडी बाँधेर सिकलसेल÷थालेसिमिया परीक्षण गर्न अस्पतालमा आउने गरेको बताउँछन् ।
बर्दियाको बारबर्दिया नगरपालिकाले नगरका एक वर्षदेखि २९ वर्ष समूहका सबै थारु (२० हजार) र रोग पुष्टि भएका थप ७ हजार गरी झन्डै २७ हजार जनाको सिकलसेल/थालेसिमिया परीक्षणमा गराएको निवर्तमान नगर प्रमुख दुर्गाबहादुर थारु कविरले बताए । यो परीक्षण थारु समुदायमा ११.३ प्रतिशत सिकलसेल एनिमिया र ५ प्रतिशतमा बिटा थालेसिमिया फेला परेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सिकलसेल/थालेसिमियाबारे पत्रकार अभिमुखीकरण कार्यक्रममा डा.राजन पाण्डे

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बाँकेको कोहलपुरमा १० हजार जनाको परीक्षण गर्दा १५ प्रतिशत र राप्तीसोनारीमा पाँच सय जनाको परीक्षण गरेको प्रारम्भिक रिपोर्टमा १८ प्रतिशतमा सिकलसेल भएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि कूल जनसंख्याको एक प्रतिशतमा रोग पाइएमा जनस्वास्थ्य समस्या हुने मापदण्ड बनाएको छ । बाँके र बर्दियाका यी वस्तीको परीक्षण १० प्रतिशतभन्दा माथि भएकाले यी जिल्लाका थारू समुदायमा सिकलसेल÷थालेसिमिया जनस्वास्थ्य समस्याकै रुपमा रहेको डा. पाण्डे जिकिर गर्छन् । थारु बाहेक विसी, योगी, रैदास, अधिकारीलगायतका थरका व्यक्तिमा पनि यी रोग भेटिएको छ । तराईमा औलो लाग्ने ठाउँमा बसेका आदिवासीहरु यी रोगको शिकार भएका छन् ।

सामान्य अवस्थाको गोलो रातो रक्तकोषिका र सिकलसेल भएपछि हसियाको आकारमा परिणत

सिकलसेल/थालेसिमिया रगतको रातो रक्तकोषमा हुने जैविक वंशाणुगत रोग हुन् । सामान्य अवस्थामा रातो रक्तकोषिका गोलो र चिल्लो हुन्छ । सिकलसेल भएमा रातो रक्तकोषहरु हसियाको आकारमा परिणत भइ १५ देखि २० दिनसम्म रक्त सञ्चारमा रहन्छ । जसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । बनेको रक्तकोषको आयु पनि छोटो हुन्छ । रगत ढिलो बन्दा शरीरमा रगतको कमी हुनजान्छ । सिकलसेल भइसकेपछि शरीरको विभिन्न महत्वपूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एकदेखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ । थालेसिमिया रोगको अवस्था पनि उस्तै हो । नेपालको बाँके, बर्दिया, कैलाली कञ्चनपुर, दाङ र सुर्खेतका थारुमा सिकलसेल रोग रहेको अनुसन्धानले देखाएको छ । दाङ पूर्वका थारुहरुमा भने थालेसिमिया रोगको समस्या बढी छ । तराईमा आदिवासी थारुलाई पहिले औलो लागेन । थारु समुदायमा औलो रोगको महामारीसँग जुध्न गोलाकार रक्तकणिका बनाउने जीनमा प्राकृतिक उत्परिवर्त भइ रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास भयोे र जसबाट सिकलसेल बनेको डा.पाण्डे बताउँछन् । त्यसपछि सिकलसेल थारुका एक पुस्तादेखि अर्को पुस्तामा सरेको उनी बताउँछन् ।
सिकलसेल÷थालेसिमिया अरु जस्तो सरूवा रोग त होइनन् तर बाबा र आमाको जीनबाट सन्तानमा सर्छ । रोगको समयमै पहिचान नगर्दा रोगी दम्पत्तीबाटठ जन्मिने बच्चा या त रोगी हुन्छन् या रोगको वाहक हुन्छन् । बाबा र आमा दुबैबाट सिकलसेलको जीन जन्मिने बच्चामा पनि स¥यो भने बच्चा पनि सिकलसेल÷थालेसिमिया रोगी नै जन्मिन्छ । यही विस्तार रोक्न डा.पाण्डेले बिहे गराउने पुरोहितले जस्तै सिकलसेल/थालेसिमियाको कुण्डली बनाएर वितरण गरिरहेका छन् ।

सिकलसेल/थालेसिमिया विज्ञ डा.राजन पाण्डेले तयार पारेको सिकलसेल/थालेसिमिया कुण्डली

विवाह गर्न नमिल्ने अवस्था
सिकलसेल/थालेसिमिया कुण्डली अनुसार तीन किसिमको अवस्थामा विवाह गर्नु भनेको रोग विस्तार गर्नु हो । जस्तोः बा र आमा दुबै सिकलसेल÷थालेसिमिया भएको छ भने जन्मिने सन्तान पनि रोगी नै हुन्छ । सिंगो परिवार नै रोगी हुन्छ । बाबालाई सिकलसेल/थालेसिमिया र आमा वाहक भएमा पनि जन्मिने सन्तान पनि ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहक जन्मिन्छन् । आमालाई सिकलसेल÷थालेसिमिया र बाबा वाहक छन् भने जन्मिने सन्तान पनि ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहक जन्मिन्छन् । बाबा र आमा दुबै सिकलसेल/थालेसिमियाको वाहक छन् भने जन्मिने सन्तान २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहक जन्मिने सम्भावना हुन्छ । यस्तो बेला विवाह गर्न आफैंले जोखिम मोल्नुपर्ने हुन्छ । डा.पाण्डे जोखिम मोलेर विवाह नगर्न सुझाव दिन्छन् ।

विवाह गर्न मिल्ने अवस्था
यस्तो जोडीको विवाह गर्न मिल्छ । जस्तो ः बाबाआमा दुबैलाई सिकलसेल÷थालेसिमिया छैन भने सन्तान पनि सामान्य नै जन्मिन्छन् । बाबा सामान्य र आमा सिकलसेल/थालेसिमियाको वाहक हो भने जन्मिने सन्तान पनि ५० प्रतिशत सामान्य र ५० प्रतिशत वाहक हुने सम्भावना हुन्छ । बाबा सिकलसेल/थालेसिमियाको वाहक छन् र आमा स्वस्थ भए पनि जन्मिने सन्तान पनि ५० प्रतिशत सामान्य र ५० प्रतिशत वाहक हुने सम्भावना हुन्छ । बाबाको स्वास्थ्य अवस्था सामान्य छ तर आमालाई सिकलसेल÷थालेसिमिया छ भने सन्तान सबै वाहक जन्मिने सम्भावना हुन्छ । आमाको स्वास्थ्य अवस्था सामान्य छ तर बाबालाई सिकलसेल÷थालेसिमिया छ भने सन्तान सबै वाहक जन्मिने सम्भावना हुन्छ । यी माथिका ५ अवस्थामा विवाह गर्न मिल्छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा थारु जातिको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ । जुन देशको कूल जनसंख्याको ६.५६ प्रतिशत थारु छन् । सबै थारुको सिकलसेल परीक्षण गर्दा कम्तीमा २ लाखभन्दा बढीलाई समस्या भएकोे हुनसक्ने डा. पाण्डेको दाबी छ । उनका अनुसार विभिन्न स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा अहिलेसम्म ३ हजार ८०० हजार जना थारुमा सिकलसेल एनिमिया रोेग लागेको पुष्टि भएको छ । बाँके, बर्दिया कैलाली लगायत पश्चिम नेपालका ८९४ जनाले भेरी अस्पतालबाट सिकलसेलको उपचार सेवा लिइरहेका छन् । सरकारले सिकलसेलका बिरामीलाई एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरी अस्पतालबाट सेवा लिइरहेका बिरामीमध्ये २० जनाको एक लाख रुपैयाँ सकिएको छ । उनीहरु थप उपचार गर्न आर्थिक समस्या देखिएको छ ।
नेपालमा मात्र होइन । सिकलसेल÷थालेसिमिया विश्वका अमेरिका, अफ्रिका, बेलायत, साउदी अरब, भारतलगायतका देशको स्वास्थ्य समस्या हो । साउदी अरेबिया, बहराइन, साइप्रस, माल्दिभ्सलगायतका देशमा सिकलसेल÷थालेसिमिया रोगको विस्तार रोक्न अनिवार्य रगत परीक्षण गर्न कानुनी व्यवस्था नै रहेको डा.पाण्डे बताउँछन् । उनको सुझाव छ, ‘सिकलसेल÷थालेसिमियालाई एउटा गोत्र मानौं । रगत परीक्षणपछि सिकलसेल÷थालेसिमियाको अवस्था बुझेर मात्र विवाह गरेमा जन्मिने सन्तान पनि स्वस्थ हुन्छ । रोग विस्तार हुनबाट जोगिन्छ ।’
डा.पाण्डे जन्मेको ६ महिनाभित्रको सबै बच्चाको रगत परीक्षण गरी सिकलसेल÷थालेसिमियाको पहिचान गर्न सकेमा सम्भावित जोखिमलाई अझ घटाउन सकिने बताउँछन् । यो रोगको उपचार गर्दा गर्दा व्यक्तिले घर, जग्गा सम्पत्ति सबै बेच्नुपर्ने अवस्थामा पुगेकाले सरकारले स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य रुपमा सिकलसेल÷थालेसिमियाको रोगको औषधिलाई समावेश गर्न सकेमा रोगीलाई राहात हुने थियो ।

एक लाखको निःशुल्क उपचार
सरकारले विपन्न नागरिक औषधि उपाचार कार्यक्रम अन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । गरिब नेपाली नागरिकलाई गम्भीर स्वास्थ्य अवस्थाको उपचार गर्न सामाजिक स्वास्थ्य सुरक्षा खण्डको गरीब नागरिक सेवा योजनाले कोष प्रदान गर्दछ । देशका आधा दर्जन अस्पतालले यो सेवा प्रदान गरेका छन् । स्वास्थ्य सेवा विभाग वार्षिक प्रतिवेदन ०७६÷७७ अनुसार सिभिल अस्पताल काठमाडौंमा ४० जना, भेरी अस्पताल नेपालगन्जमा एक हजार २४४ जना, सेती अञ्चल अस्पताल कैलालीमा एक हजार ५८६, घोडाघोडी अस्पताल प्रा.लि.कैलालीमा ९११, बर्दिया अस्पताल गुलरियामा २१ जना, महाकाली अस्पताल महेन्द्रनगरमा १ जना गरी तीन हजार ८०३ जनाको उपचार भएको छ । अहिले यो संख्या बढेर चार हजारको हाराहारीमा पुगेको छ ।