बारबर्दियाका यी ४ कुरा नीतिगत रुपमा अनुशरण गरे नयाँ पुस्तामा सिकलसेल ब्रेक हुने
दुर्गाबहादुर थारु ‘कविर’
सिकलसेल एनिमिया थारु समुुदायको जनस्वास्थ्य समस्या हो । हुन त यो अरु समुदायमा पनि झिनो रुपमा रहेको छ । सन् १९९१ अमेरिकन जर्नल अफ ह्युमन जेनेटिक्स, थारुहरुको रगतमा पाइने अ–थालसिमिया जीनले गर्दा मलेरियासँग लड्न सक्ने अनुवांशिक प्रतिरोधात्मक क्षमताको विकास भएको हो । यसले गर्दा मृत्यदर दश गुणाले घट्छ । अनुमान सहजै के लगाउन सकिन्छ भने थारुहरुको कयौं पुस्ता प्रचण्ड गर्मीमा बसे । जहाँ औलोको प्रकोप थियो । सिकलसेल संक्रमित भएपछि यो पुस्ता दरपुस्तामा सर्दै गयो । थारुहरुले औलोसँग लडे । उनीहरुको रोगप्रतिरोधात्मक क्षमता त सेलमै हुने हो । औलोसँग लड्दा सेल नै बाङ्गो भयो भनेर अनुमान लगाउन सकिन्छ । थारुहरुलाई औलो लाग्दैनथ्यो नि त ? थारुले औलोलाई त जिते तर सेल बाङ्गोटिङ्गो भयो । सिकलसेल भएका थारुलाई औलो कहिल्यै पनि लागेन भन्ने डाक्टरहरुको भनाइ छ ।
बर्दियाको बारबर्दिया नगरपालिकामा हामीले थारु समुदायका एक वर्षदेखि २९ वर्ष उमेर समूहका करिव २० हजार र सिकलसेल भएका व्यक्तिको तीन पुस्ताका व्यक्तिलाई गरी झन्डै २७ हजार जतिको मास स्क्रिनिङग गरेका थियौं । जसमा सिकलसेल रोगी १२४ र एक हजार २०० वाहक भेटिएका थिए । जुन बारबर्दियाका थारु समुदायको कूल जनसंख्याको ११.३ प्रतिशतमा सिकलसेल एनिमिया पाइएको थियो । थारु बाहुल्य भएका हरेक स्थानीय सरकारले हामीले गरे जस्तै मास स्क्रिनिङ गर्न जरुरी छ । सिकलसेलका सम्बन्धमा बारबर्दियामा हामीले चार वटा काम गरेका छौं ।
स्थानीय पाठ्यक्रमका रुपमा कक्षा ९ र १० मा लागू गरेका छौं । यो कक्षामा पढ्ने विद्यार्थीहरुमा सिकलसेल कसरी सर्छ भन्ने पर्याप्त ज्ञान भइसक्यो । यी विद्यार्थीबाट अब सिकलसेल रोगी बच्चा जन्मिदैन । यसो हुँदा सिकलसेल नयाँ पुस्तामा ब्रेक हुन्छ । यो हामीले रणनीतिक महत्वको काम गरेका हौं ।
दोस्रो हामीले २ वर्ष लगाएर नगरका सबै थारु समुदायको विवाह नभएको उमेर (१–२९)लाई मास स्क्रिनिङ ग¥यौं । त्यसका लागि हामी गाउँगाउँमै पुगेका थियौं । यसमा ठूलो जनशक्ति परिचालन गरिएको थियो । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषद्बाट चार करोड रुपैयाँ ल्याएर काम गरेका थियौं ।
तेस्रो काम हामीले उपचार केन्द्र पनि आरसी मेमोरियल अस्पताल जयनगरमा उपचार केन्द्र स्थापना गरेका छौं । यहाँका रोगी अब अन्त उपचारको लागि धाइरहनु पर्दैन । चौथो काम हामीले नवजात शिशुको खोपका लागि दिइने बाल कार्डमा १५ महिना पुगेपछि दादुराको खोप अनिवार्य लगाउने हुन्छ । हामीले त्यो बेलामा अनिवार्य रुपमा सिकलसेल जाँच गर्ने भनेर बाल कार्डमा अर्को कोलम थपेका छौं । यहाँ जन्मिने बच्चामा सिकलसेलको अवस्था यसबाट सुरुमै थाहा हुन्छ । यी चार वटा काम थारु समुदायको बसोबास बाक्लो रहेको सबै स्थानीय तहमा लागू गरिदिने हो भने सिकलसेल ब्रेक हुन्छ । नयाँ पुस्तामा जाँदै जाँदैन । अहिले त संघीय र प्रदेश सरकारले पनि सिकलसेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । ( लेखक थारु बारबर्दिया नगरपालिकाका निवर्तमान नगर प्रमुख हुुन् । )