गणपुरक संख्या नपुगेपछि राप्तीसोनारीको गाउँसभा स्थगित
राप्तीसोनारी : राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभा स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि गाउँसभा स्थगित भएको हो । शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको गाउँसभा बेलुकी ६ बजे सुरु भएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिती नजनाएर बहिस्कार गरेपछि गाउँसभाका सभाध्यक्ष तप्तबहादुर पौडेलले गाउँसभा स्थगित भएको घोषणा गरेका हुन् । गाउँसभाको अर्को बैठक असार १४ गते मंगलबार विहान ११ बजे बस्ने मिति घोषणा गरिएको छ । गाउँसभामा ४७ जना सदस्य मध्य नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाका १९ जना सदस्य मात्र उपस्थित थिए ।
अध्यक्ष पौडेलले एमालेका जनप्रतिनिधिहरुले बहुमतको अहंकार र दम्भ देखाएको बताए । असार ८ गते नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकबाट पारित गरेका उनीहरु आफैंले गरेको निर्णयबाट पछि हट्दै वडाको सिलिङ थप बढाउनुपर्ने भन्दै अनुपस्थित हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि कुल ८८ करोड ३१ लाख ४८ हजारको बजेट सभामा पेश गर्ने तयारी गरेको थियो । जसमा ९ वटा वडाका लागि त्यहाँको जनसंख्या, भुगोल र विकासको आवश्यक्ताका आधारमा न्युनतम १ करोड ६० लाख देखि १ करोड ९० लाख सम्म बजेटको सिलिंग दिईएको थियो । उक्त बजेट सिंलिंग असार ८ गते बसेको कार्यपालिकाको बैठकले पास गरेको थियो ।