बाँकेमा लागूऔषधमा संलग्न १८५ जना पक्राउ, ११२ जनामाथि मुद्दा

नेपालगन्ज : बाँकेमा लागूऔषध मुद्दामा १८५ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको हालसम्म १८५ जना पक्राउ परेका छन भने १२६ जना माथि मुद्दा चलाइएको छ ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित पत्रकार भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले उक्त जानकारी दिएका हुन् । गत आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा १९६ जना पक्राउ परेका थिए भने १२६ जनामाथी मुद्दा चलाइएको थियो । गत वर्ष ११ जना महिला पक्राउ परेकोमा चालु आवको हालसम्म १० जना महिला पक्राउ परेको सहायक प्रजिअ केसीले बताए ।


त्यस्तै गतवर्ष भन्दा लागूऔषध ब्राउन सुगरका साथै नाइट्रोजन र ट्रामाडोल ट्याब्लेटको कारोबार बढेको पाइएको छ । गत आर्थिक वर्षमा ५७० ग्राम ब्राउन सुगर बरामद गरिएकोमा चालु आर्थिक वर्षको हालसम्म ८९०.९९ ग्राम बरामद गरिएको छ । त्यसैगरी गत आर्थिक वर्षमा एक हजार ३१० ट्याब्लेट नाइट्रोजन र एक हजार ७० ट्याब्लेट ट्रामाडोल बरामद गरिएकोमा चाल आर्थिक वर्षको हालसम्म चार हजार २५ ट्याब्लेट नाइट्रोजन र दुई हजार ४३० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा असार ८ देखि सप्ताहव्यापी विविध कार्यक्रम गरिरहेको छ । आइतबार बिहान प्रभातफेरिसँगै कार्यक्रम समापन हुने बताइएको छ ।