पत्रकार भन्दा भय छ, डर छ : नगर प्रमुख आचार्य

नेपालगन्ज : कोहलपुर नगरपालिकका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पत्रकारसँग भय र डर भएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आइतबार कोहलपुरमा आयोजना गरेको मिडिया साक्षरता अन्तरक्रियामा नगर प्रमुख आचार्यले पत्रकारले लेख्ने समाचारका कारण यस्तो अवस्था आएको बताए । उनले भने, ‘अहिले पत्रकार भन्दा एकदमै भय छ । डर छ । तपाईं पत्रकारहरु सत्य र खोजमा आधारित भएर समाचार लेखिदिनुस् । यसले मिडियाप्रतिको आकर्षण पनि बढ्छ ।’ उनले मिडिया सशक्त भएमा मात्र राज्यका अंगहरु सशक्त हुने जिकिर पनि गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले मिडिया साक्षरताका विभिन्न पक्षबारे जानकारी गराएका थिए ।

महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईँको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, अकोराबका केन्द्रीय सदस्य हेमन्त विक, महासंघ प्रदेश कमिटी सदस्य मो.आरिफ अन्सारी, महासंंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतम, महासंघ बर्दियाका पूर्वअध्यक्ष राजेन्द्र धिताल, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ल, नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीलगायतका वक्ताले मिडियाको भूमिकाबारे धारणा राखेका थिए । कार्यक्रममा बाँके र बर्दियाका पत्रकारको सहभागिता रहेको थियो ।