थारू लोकसाहित्यबारे पुस्तक प्रकाशन

नेपालगन्ज : नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंले ‘थारू लोकसाहित्य’ नामक पुस्तक प्रकाशित गरेको छ । पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्यका कुरा समेटिएको छ ।
मोरङिया थारूको रामसागर चौधरी, सप्तरिया थारूको नन्दलाल चौधरी, चितोनिया थारूको कारी महतो, रुपन्देहीमा थारू लोक साहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारूको भूमिका थारू र बुनु थारू, डेसौरी थारूको पवनकुमार थारू, कठरिया थारूबारे विष्णुप्रसाद कठरिया तथा रानाथारू लोकसाहित्यबारे करम सिंह राना तथा बासमतीकुमारी रानाको लेख पुस्तकमा समेटिएको छ ।
लक्ष्मी माली र डा. कृष्णराज सर्वहारीले पुस्तकको सम्पादन गरेका हुन् । सम्पादक सर्वहारीले सबै लेखको थारू भाषामा अनुवाद पनि समेटिएकाले थारू भाषाको विविधता बुझ्न स्वयम् थारू भाषीलाई पनि पुस्तकले मद्दत गर्ने बताए ।