सुविधा मात्र खोज्दा कहिल्यै सुख पाइन्न : स्वामी ओमकारानन्द

नेपालगन्ज : द आर्ट अफ लिभिङको मुख्यालय भारतको बैंग्लोरबाट आएका स्वामी ओमकारानन्दले जीवनमा सुविधा मात्र खोज्दा कहिल्यै सुख नपाइने बताएका छन् ।
द आर्ट अफ लिभिङ नेपालगन्जले बुधबार यहाँ आयोजना गरेको गुरू पूर्णिमा विशेष कार्यक्रममा स्वामी ओमकारानन्दले सुखको ख‍ोजीमा सुविधाको पछाडि दौडेकाले मानिसले दुःख पाएकोे बताए । उनले भने, ‘सुविधा त साधन मात्र हो । सुख अनुभूति हो । सुविधामा मात्र कहिल्यै सुख मिल्दैन । सुख बढ्दा सुविधा आफै आउँछ । त्यसैले सुविधा होइन, सुखका लागि काम गरे । सुख नै जीवनमा चाहिन्छ । सुविधा ह‍ोइन ।’

उनले अज्ञानताका कारण मानिसहरु सुविधाका पछाडि दौडिरहेको टिप्पणी गरे । कोरोना कालमा विश्वका शक्तिशाली र सुविधा सम्पन्न देशको अवस्थाको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘कोरोनाको बेला जति सुविधावाला पनि बचेनन् ।’ सुविधामा दौड तर सुख नछोड्न उनको सुझाव थियो । त्यसका लागि सात्विक पथमा लाग्न पनि उनले साधकहरुलाई बताए । गुरू पूर्णिमा गुरूको पूजाभन्दा भक्तका लागि भक्ति, प्रेम र समर्पणको उत्सव भएको उनको भनाइ थियो । स्वामी ओमकारानन्दले गुरू पूजा गरेका थिए । सो अवसरमा सत्सङ पनि गरिएको थियो ।