कोहलपुरमा दाजु भाउजुको योजनामा भाइ र बुहारीको हत्या

नेपालगन्ज : बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुले २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षिय भाइ बुहारी अञ्जली गडरियाको हत्या गरेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार राति कोहलपुर नगरपालिका १४ पार्वतीपुरस्थित आफ्नै घरमा दाजु विजयकुमार र भाउजु रेखाको योजनामा भाइ र बुहारीको हत्या भएको खुलेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाइ विजयकुमार र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०÷५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको प्रहरीको भनाइ छ । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
गडरिया दम्पतीको हत्या हुँदा माथिल्लो तलामा दाजु भाउजु विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाइ छ । मृतकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाइ विजयलाई नियन्त्रण लिएर सोधपुछ गरेको थियो । विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले पति र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिए पनि भाइको पनि हत्या भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।