१२ वर्षमै क्यान्सर, उपचार गर्न पैसा अभाव

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-७ सत्तीका समीर चौधरीलाई १२ वर्षकै उमेरमा क्यान्सर भएको छ । राम मन्दिरमा धार्मिक कार्यक्रम गर्नका लागि घर-घरमा सहयोग रकम जुटाउने क्रममा स्थानीय युवाले समीरको स्वास्थ्य अवस्थाबारे थाहा पाएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न नसकेको थाहा पाएपछि युवाहरुले आफ्नो पकेट खर्च कटाएर टीकापुर अस्पतालमा उपचार गर्दा डाक्टरले क्यान्सर भएको बताउँदै राम्र्रो अस्पतालमा उपचार गर्न रिफर गरेको छिमेकी महेश रावलले बताए ।
उनका बाबा सन्तोष चौधरी र आमा रीमा चौधरी मजदुरी गरेर जिविकोपार्जन गर्छन् । काम नगरेको दिन घरमा चुल्हो बल्दैन । उपचारमा लाग्ने खर्च नभएर घरमै रोग पालेर बसेको युवा सरोकार समूह सत्तीका अध्यक्ष सन्तोष नेपालीले बताए । एक वर्ष अघि खेल्दा दाहिने हात भाँचिएको थियो । घरेलु उपचार गरे । अहिले हात सुकेको छ भने काँध सुन्निएर भकुण्डो जस्तो भएको छ । युवा सरोकार समूहले बालक समीरको उपचारका लागि सहयोगका लागि सबैमा अनुरोध गरेको छ ।