ढाड भाचिएर उपचार गर्न नसकेकी महिलालाई केसी दम्पतीले गरे ८० हजार सहयोग

बर्दिया : बर्दियाको मधुवन ७ का ईम बहादुर केसी ( युवराज) र उनकी श्रीमती हिरा देवकोटा के.सीले ढाड भाचिएर लामो समयदेखि उपचार गर्न नसकेकी एक महिलालाई ८० हजार आर्थिक सहयोग गरेका छन । राजापुरमा व्यवसाय संचालन गरीरहेका केसी दम्पतीले आर्थिक अभावका कारण ढाडमा राखिने स्टिल रड हाल्न नसकेकी मधुवन ४ की राधिका चौधरीलाई उक्त सहयोग उपलब्ध गराएका हुन ।
चौधरीको यही श्रावण १ गते घरनजिकै रुखबाट लडेर ढाड भाचिएको थियो । उनलाई उपचारका क्रममा जिल्ला अस्पताल बर्दिया लगेपछि त्यहाँ उपचार सम्भव नभएको भन्दै नेपालगन्ज रेफर गरिएको थियो । आर्थिक अभावमा नेपालगन्ज उपचारका लागि जान नसक्ने भएपछि चौधरी दम्पती घर फर्किएका थिए । त्यसयता उनी दुई सातादेखि भाचिएको ढाडको उपचार गर्न नसकी घरमै बस्दै आएकी थिईन । उनको उपचारका लागि स्वास्थ्य शाखा मधुवनमा कार्यरत गणेश बहादुर बोहरा र गोबिन्द राज गिरीले कर्मचारीवाट केही सहयोग रकम संकलन गरी विभिन्न निकायमा समन्वय गर्दे भेरी अस्पतालमा उपचार सुरु गराएका थिए । सामान्य उपचार जुटेपनि ढाडमा स्टिल रड हाल्न ८० हजार खर्च लाग्ने भएपछि स्वास्थ्य शाखा प्रमुख गोबिन्द राज गिरीले सामाजिक संजालमा सहयोगका लागि याचना गरेका थिए । आर्थिक अभावमा उपचार नभएको सुनेपछि मनकारी केसी दम्पतीले बुधबार ८० हजार सहयोग गरेका हुन ।
१२ बर्षसम्म नेपाली सेनामा जागिर गरेका उनले २०७४ सालवाट जागिर छाडेर राजापुरमा व्यवसाय थालेका थिए । उनले व्यवसाय शुरू गर्दा आर्जन भएको १० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने प्रण गरे बमोजिम सहयोग गरेको बताए ।