१५ प्रतिशत मात्र रोपाइँ भएपछि नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा २६ साउनसम्म १५ प्रतिशत मात्र रोपाइँ भएपछि सुख्खा क्षेत्र घोषणा भएको छ ।
गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जनाएका छन् । गाउँपालिकाले किसानका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग आग्रह गरेको छ । गाउँपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सदन भण्डारीका अनुसार गाउँपालिकाको धान खेती हुने ४ हजार २०० हेक्टर क्षेत्रफलमध्ये १५ प्रतिशत मात्र रोपाइँ भएको छ । पानी नपरेकाले उनीहरूले धान रोपाइँ गर्न पाएका छैनन भने बैकल्पिक उपायमार्फत लगाएको धान बाली समेत नष्ट भएको छ । जिल्लाका अन्य ७ स्थानीय तहमध्ये नरैनापुरपछि दोस्रो कम रोपाइँ नेपालगन्जमा ९६ प्रतिशत र राप्तीसोनारीमा शत्प्रतिशत रोपाइँ भएको छ । अन्य स्थानीय तहमा ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको छ ।