स्थानीयतहमा बेथिति : सुट, धोती, सल, ग्यास वितरणमा लाखौ रकम खर्च

बर्दिया : गुलरिया नगरपालिकाले सुट, धोती, सल, ग्यास वितरण जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेको खुलासा भएको छ । महालेखा परिक्षकको कार्यालयको ५९ औं प्रतिवेदनले नगरपालिकाले सरकारी कोषवाट तलब सुविधा तथा तलब भत्ता खाने पदाधिकारीहरु लगाएतलाई वितरणमखी कार्यमा खर्च गरेको भन्दै आपत्ती जनाएको हो ।
नगरपालिकाको वडा नम्वर २ मा आर्थिक बर्ष २०७७/०७८ मा महिलाहरुका लागि ३५० थान धोती ३ लाख ७५ हजार ९२५ मा खरिद गरी वितरण गरेको प्रतिवेदनमाम उल्लेख छ । त्यस्तै न्यायिक समिति संचालन खर्च अन्तगर्त मायाको चिनो वितरणका लागि १२/१२ थान धोती, सल र सुट वितरण गरी ४८ हजार खर्च गरेको प्रति महालेखाले प्रश्न उठाएको छ ।
सरकारी कोषवाट तलब सुविधा तथा तलब भत्ता खाने पदाधिकारीहरुले नै यस्ता अनुत्पादक खर्चमा सरकारी कोषको प्रयोग गर्ने गरेको पाईएकोले यस्ता कार्य नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरीएको छ ।
अघिल्लो आर्थिक बर्षमा संघिय सरकारवाट हस्तान्तरित रकमवाट ग्यास सिलिन्डर र चुलो खरिद वडास्तरिय कार्यक्रममा वडा नम्वर ८ र ९ का लागि ग्यास चुलो र सिलिन्डर खरिद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वडाका विपन्न र असहाय नागरिकलाई वितरण गरेको जनाईएको ग्यास सिलिन्डर र चुलो खरिद वडा नम्वर ८ मा ३४ लाख १० हजार ५४३ र वडा नम्वर ९ मा १९ लाख १ हजार २७८ रुपैया खर्च भएको छ ।
त्यस्तै वडा नम्वर ६, ७ र ९ मा झुल वितरणमा १० लाख, वडा नम्वर १० मा विपन्नलाई ५ लाखको धोती वितरण, जेष्ठ नागरिक सम्मान, विपन्नलाई कपडा वितरण, दलितलाई कम्वल वितरण, मन्दिरमा किर्तन सामाग्री जस्ता आनुत्पादक क्षेत्रमा ३८ लाख ५६ हजार वितरण गरेको प्रति आपत्ती जनाएको हो ।
अनुत्पादक वितरणमुखी र उपयोगमा जोड दिएको देखिएकोले उत्पादन एवम रोजगारीमा बृद्धि हुने छिटो एवम दिगो प्रतिफल दिने कार्यक्रममा प्राथमिकता दिनुपर्ने प्रतिवेदनले जोड दिएको छ ।
यस्तै नगरपालिकाले स्पष्ट कार्ययोजना एवम निर्णय वेगर बैठक भत्ता मात्र खुवाउने उद्देश्यले बैठक बसी मापदण्ड विपरित ५२ जनाको उपस्थिती जनाई १५ सयका दरले रकम भुक्तानी गरेको जनाएको छ । महालेखाले कानून विपरित आफुखुसी कर्मचारी प्रोत्साहन भत्ता वितरण गरेको भन्दै ४२ लाख ६३ हजार बेरुजुमा राखेको छ भने यस्तो खर्चमा नियन्त्रण हुनुपर्ने प्रतिवेदनले सुझाएको छ ।
त्यस्तै करार कर्मचारी भर्ना गरी ३८ लाख ५६ हजार ७२० रुपैया भुक्तानी गरेको नियमसंगत नभएको भन्दै बेरुजुमा राखेको छ । कानून विपरित सल्लाहकार राखेको भन्दै उनीहरुलाई भुक्तानी गरेको ४ लाख २० हजार तलब सुविधा बेरुजुमा राखेको छ भने विभिन्न ६ जना पदाधिकारीलाई वितरण गरिएको कोरोना भाइरस सम्वन्धी जोखिम भत्ता १ लाख ९ हजार ४८० रुपैया सम्वन्धितवाट असुलउपर हुनुपर्ने भनेको छ ।
कोरोना रोग उपचार खर्चका नाममा सरकारले १ लाख सम्म विमा गरीदिने व्यवस्था भएपनि प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटालाई ३ लाख ७९ हजार र वडा अध्यक्ष हरीप्रसाद पासीलाई वडा तथा नगरको निर्णयगरी ३ पटक भुक्तानी भएको २ लाख ९० हजार गरी ६ लाख ६९ हजार रुपैया अनियमित देखिएको प्रतिवेदनमा उल्लेख छ ।